प्रविधिले छाडेको डोबः कसरी हराए सीडी र डीभीडी?

कुनै समय फिल्मका पारखी न्युरोड, महाबौद्ध र ठमेल पुगी सीडी, भीसीडी तथा डीभीडी बटुल्थे। हलमा नचल्ने सिनेमा मात्र नभई हलमा जान नचाहने दर्शका लागि पनि यी सामग्री विकल्प थिए। कहिले र कसरी हरायो यो प्रविधि?

काठमाडौँ– तपाईं आजभोलि कहाँ फिल्म हेर्नुहुन्छ? कुन–कुन माध्यबाट हेर्नुहुन्छ?

‘नेटफ्लिक्स, प्राइभ भिडियो, हटस्टार, युट्युब,’ तपाईंले दिने सम्भावित उत्तर यिनै हुन्। यी सबै हाम्रा स्मार्ट फोन तथा टीभीमा राखिने एपमार्फत खुल्छन्। वश्वभरका सिनेमा मोबाइलमै हेर्न सकिने प्रविधि हामीले पनि प्रयोग गरिरहेका छौँ।

यसबाहेक सिनेमा हलमा गएर सिनेमा हेर्नु परम्परागत तरिका नै हो। सप्तहान्त वा बिदाको दिन वातानुकूलित हलमा सिनेमा हेर्न पाइने सुविधा पनि आइसकेको छ। तर करिब एक दशक अगाडिसम्म फिल्म र गीतका भिडीयो हेर्ने प्रविधि अरू पनि थिए, जसबाट घरै बसेर पनि हेर्न सकिन्थ्यो।

‘कम्प्याक्ट डिस्क’ (सीडी), ‘भिडियो कम्प्याक्ट डिस्क’ (भीसीडी), ‘डिजिटल भर्सटायल/भिडियो डिस्क’ (डीभीडी), ‘ब्लु रे डिस्क’बाट फिल्म हेर्ने पुस्ता अहिले पनि ठूलो संख्यामा छ। यी डिस्कलाई बोलचालमा ‘चक्का’ भनिन्थ्यो।

शहरी क्षेत्रमा सीमित रहेको सिनेमा हलसम्म पुग्न नसकेकाहरू र हलमा नलाग्ने फिल्म हेर्न सबैभन्दा उपयुक्त र सजिलो माध्यम सीडी र डीभीडी थिए। सीडी र डीभीडी ‘प्लेयर’ किन्न पाइन्थ्यो। त्यसलाई टेलिभिजनमा जोडेर हेर्न सकिन्थ्यो।

२०० देखि ३०० रुपैयाँसम्म पर्ने यस्ता सीडी र डीभीडीको मूल्य पछि २०–३० रुपैँयासम्म झरेको थियो। यसरी मूल्य झर्नुको कारण ‘पाइरेसी’ थियो।

माओवादी द्वन्द्वमा फैलिए सीडी र डीभीडी
अहिले चाइनिज सामान किन्न उपभोक्ता धुइरिने वीर अस्पतालपछाडिको क्षेत्र कुनै समय सीडी र डीभीडी पाइने हब थियो। नेपाली, हिन्दी, अंग्रेजी, हलिउड मात्र नभई हलमा रिलिज नहुने ‘अल्टरनेटिभ’ फिल्मका चक्कासमेत पाइन्थे।

नेपालमा गणतन्त्र स्थापना अघिसम्म चक्काको चलन चलिरहेको फिल्मकर्मी तथा समीक्षक अनुप सुवेदी बताउँछन्। आफूले पहिला भिडियो क्यासेट रिकर्डर (भीसीआर) देखेको र भीसीआर प्लेयरमा फिल्म पनि हेरेको उनको अनुभव छ। 

“हुन त भीसीआर सम्भ्रान्त परिवारमा देखिन्थ्यो, हामी भने भिडियो पार्लर र साइबरमा चक्का लगेर कम्प्युटरमा पनि हेथ्र्यौं,” उनी सम्झन्छन्। नेपाली, हिन्दीका सामान्य फिल्मका भीसीआरभन्दा फेस्टिभलमा अवार्ड जितेका फिल्मका चक्का महँगा हुन्थे।

काठमाडौँ फिल्म सोसाइटीले २०५३/५४ सालतिर डिल्लीबजारस्थित फ्रान्सेली केन्द्रमा हरेक शुक्रबार फिल्म फेस्टिभलका सिनेमा देखाउँथ्यो। नवीन सुब्बा, रम्यता लिम्बू, दीपक थापासँगै सुवेदी पनि त्यहाँ फिल्म हेर्न जान्थे। राजेश गोंगजुले फ्रान्सेली केन्द्रमा फिल्म हेर्ने व्यवस्था मिलाउँथे। पैसा भने मिलेर तिर्थे। 

विसं.२०५० को दशकमा ‘चिनो’देखि ‘दर्पणछाँया’सम्मका नेपाली सिनेमाले चर्चा पाए। २०५७ सालसम्म माओवादी द्वन्द्व धेरै नचर्कंदासम्म काठमाडाँै र काठमाडौँबाहिरका हलमा दर्शकको उपस्थिति राम्रै हुन्थ्यो। माओवादी द्वन्द्व चर्कन थालेपछि हलमा फिल्म देखाउन पनि असहज हुन थाल्यो अनि सीडी, भीसीडीलगायत प्रविधिको प्रयोग ह्वात्तै बढेको सुवेदी बताउँछन्।

“सीडी, भीसीडी २०५८ सालतिर आएको होला,” उनी भन्छन्, “तर भीसीडी एकदुर्ई वर्षभन्दा बढी रहेन। डीभीडीले लामै समय राज गर्‍यो, कारण डीभीडी कम्प्युटरमा समेत राखेर हेर्न मिल्थ्यो।” 

यस्ता सीडी, डीभीडी पाकिस्तानमा पाइरेसी हुने र चीनमा कपी हुने गरेको आफूले थाहा पाएको सुवेदीको भनाइ छ। हलमै लुकीछिपी कपी गरेका डीभीडी पनि आउँथे। “हलमा रिलिज भइनसक्दै चक्कामा यस्ता फिल्म डबिङ भएर आइसक्थे,” उनी भन्छन्, “फिल्म फेस्टिभलका चक्का भने अन्यको तुलनामा महँगो हुन्थ्यो र महिना दिनपछि मात्र नेपाल आइपुग्थे।”

फिल्म फेस्टिभलका चक्का गुणस्तरीय हुने हुँदा महँगो हुन्थ्यो। ती चक्का २०० देखि २५० रुपैयाँसम्म पर्थ्यो। पछि त्यस्ता फिल्मका पनि कपी गरिएका चक्का आउन थालेपछि २०–२५ रुपैयाँमा झरेको सुवदी बताउँछन्। भारतीय फिल्मको कपी भारतबाटै आउँथे भने अन्य विदेशी फिल्मका कपी दुबईबाट आउँथे।

बिस्तारै घरघरमा टीभी सेटमा स्टार, एचबीओ, सिनेम्याक्सजस्ता सिनेमा केन्द्रित फिल्म प्रशारण हुन थाले। त्यसपछि टेलिभिजनमा फिल्मका दर्शक बढे। नेपालमा गणतन्त्र स्थापना भएयता बिस्तारै कम प्रयोग हुन थालेका यस्ता चक्का कोभिडसम्म थिए। कोभिडपछि पूर्णरूपमा हराएको फिल्मकर्मी सुवेदी बताउँछन्। “न्युरोडको एभ्रेस्ट बैंकको छेउमा एक जना हुनुहुन्थ्यो, उहाँको नाम बिर्सिएँ,” सुवेदी भन्छन्, “उहाँले सडकमै सीडी बेच्नु हुन्थ्यो। हामीले भनेको जस्तै फिल्म खोजेर ल्याइदिने पनि गर्नुहुन्थ्यो।”

नेपाली फिल्म र गीतका सीडी तथा डीभीडी ओएसआर म्युजिक, बुढासुब्बालगायत कम्पनीले बेच्ने गरेको निर्देशक दीपेन्द्र लामा सम्झन्छन्। साईराम पिक्चर्सले पनि नेपाली सिनेमाका चक्का बेच्थ्यो। हिन्दी, कोरियन, चिनियाँ र थाई भाषाका सिनेमा भने प्रायः पाइरेसी आउँथे। त्यस बेला चिनियाँ फिल्मले नेपाली बजारमा राम्रो व्यापार गरेको उनी बताउँछन्।

धादिङ घर भएका रंगकर्मी केदार श्रेष्ठ ३–४ कक्षादेखि पढ्नका लागि काठमाडौँ बसेका हुन्। त्यस बेला आफू बसेको घरका मानिसले चक्का, डेक भाडामा ल्याएर सिनेमा हेर्ने गरेको उनी सम्झन्छन्। १२ घण्टाको लागि भाडामा ल्याएको भीसीडीमा रातभरमा ‘कुछ कुछ होता हे’, ‘दिल वाले दुहलनीय लेजाएगें’लगायत पाँच वटासम्म फिल्म हेरेको उनी बताउँछन्।

त्यस बेला न्युरोडमा सीडी तथा डीभीडी बेच्ने पसलका सञ्चालक ‘भट्टराई बाजे’ भनेर चिनिन्थे। आफूले पनि उनै बाजेबाट सीडी र डीभीडी किनेर लगेको श्रेष्ठको भनाइ छ। पछि कलात्मक फिल्मका चक्का खोज्न भने विज्ञ तथा वरिष्ठहरूको सुझावमा ठमेलसम्म पुगेको उनी बताउँछन्। यस्ता फिल्मको चक्कालाई ३०० देखि ४० रुपैयाँसम्म पर्थ्यो।

“२०६५ सालसम्म महाबौद्धको पूरै भवन चक्काका लागि प्रसिद्ध भयो,” श्रेष्ठ भन्छन्, “मलाई सम्झना भएसम्म कोरियन ड्रामा चलिरहेको थियो। त्यसपछि ३०–५० रुपैयाँमा नै चक्का आउन थाले। त्यसरी फिल्मप्रतिको मेरो मोह बढेको हो।”

नेपाली सिनेमाको युट्युब जमाना!
सीडी, डीभीडी, ब्लु रे डिस्क हुँदै समयअनुसार फिल्म हेर्ने प्रविधिमा परिवर्तन आएको ओएसआर डिजिटलका जेनेरल म्यानेजर रुपेन्द्र खड्का बताउँछन्। ती सबैको स्थान अहिले ओटीटी प्ल्याटफर्मले लिएको छ। सिनेमा हेर्ने शैलीमा समय र प्रविधिअनुसार परिवर्तन हुँदै जानु स्वभाविक भएको उनको भनाइ छ।

“सबैको घरमा टीभी नहुँदा डीभीडी प्लेयर मात्र नभई सीडीमै पनि भाडा लिएर फिल्म देखाउन जाने गर्थें,” उनी भन्छन्, “फरक यति रह्यो अहिले सबैजना हाते मोबाइलमा एक्लै हेर्न सक्ने भए, पहिले सबै एउटा कोठामा जम्मा भएर हेर्थे।”

उनका अनुसार भीएसआरदेखि डीभीडीसम्मको जमानामा कामको लागि मानिसलाई भौतिक रूपमा भेटघाट हुनुपर्थ्यो। “काम गर्न सजिलो अहिले छ, तर काम गर्न रमाइलो भने त्यही बेला थियो,” खड्का भन्छन्, “सीडी, डीभीडी ओसारपोसार गर्न एक किसिमले गाह्रो त थियो, त्यसले रोजगारीका साथै आवतजावतको क्रममा एक–अर्काबीच हुने मानवीय सम्बन्ध र भेटघाटको मजा अहिले ल्यापटप, कम्प्युटरमा काम गरेजस्तो छैन।”

उनका अनुसार, सीडी, भीसीडी मुख्यत चीनबाट ल्याउने गरिएको थियो। त्यसबाहेक मलेसिया, सिंगापुरबाट पनि आउँथे र ती तुलनात्मक राम्रो गुणस्तरका हुन्थे। फिल्मको डबिङ पनि उतै हुन्थ्यो।

सन् २०१४ तिर युट्युबमा फिल्म हाल्ने र हेर्ने क्रम शुरू भएपछि डीभीडीको क्रेज बिस्तारै घट्न थालेको खड्काको अनुभव छ। सन् २०१७ यता भने नेटेफ्लिक्सलगायत ओटीटी प्लाटफर्मले यी पुराना प्रविधि विस्थापित गर्दै गयो। नेटफ्लिक्स, प्राइम भिडियो, हटस्टारमा दर्शकले ‘प्रिमियम कन्टेन्ट’ वेबसिरिज हेर्न थालेपछि त डीभीडीहरू बजारबाटै हराए।

नेपालमा पनि पैसा तिरेर हेर्नुपर्ने ‘सिनेमा घर’ जस्ता एप नभएका होइनन् तर ती प्रयोग सफल भइनसकेको खड्का बताउँछन्। “पहिले पनि नेपाली फिल्म उद्योग त्यति राम्रो होइन, अहिले पनि सन्तोषकजनक छैन,” उनी भन्छन्, “त्यो बेलामा सीडीका सामग्री कपी गर्थे, अहिले दर्शक के हेर्न चाहन्छन् रोजीछाडी छ।”

फिल्मकर्मी तथा समीक्षक अनुप सुवेदी भने नेपाली सिनेमा युट्युबमा छिटो आउने भ्युज र पैसाको पछि लागेर निशुल्क हेर्न सकिने प्रणालीमा लाग्दा ‘ब्याकफायर’ भएको बताउँछन्। निशुल्क फिल्म हेर्ने बानी भएपछि दर्शक कन्टेन्ट प्रिमियम नै भए पनि पैसा तिर्नुभन्दा पर्खन उचित मान्छन्। “त्यो बेला कमसेकम कपी नै भए पनि चक्का किनेर त फिल्म हेर्थे। थोरै भए पनि पैसा तिर्ने बानी त विकसित भएको थियो,” उनी भन्छन्।