वीरगन्ज र जनकपुरमा आयोजना हुँदै ‘सार्वजनिक जीवनमा महिला’ फोटो प्रदर्शनी

नेपाल पिक्चर लाइब्रेरीको ‘सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल’ प्रदर्शनीको देशव्यापी यात्राको पहिलो चरण कात्तिक २ देखि वीरगन्ज र जनकपुरबाट शुरू हुने भएको छ।

सन् २०१० मा कन्चनपुरमा भूतपूर्व बँधुवा मजदुर महिला कमलरीहरूको आमसभा।

काठमाडौँ– नेपाल पिक्चर लाइब्रेरीले ‘सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल’ शीर्षकमा देशव्यापी फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ। यो फोटो प्रदर्शनी देशभर विभिन्न सात स्थानमा सञ्चालन गरिने छ भने पहिलो चरणमा वीरगन्ज र जनकपुरमा कात्तिक २, ३ र ४ गते आयोजना गर्न लागिएको हो।

दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नतामार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्ने उद्देश्यसाथ फोटो प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकको भनाइ छ। फोटो प्रदर्शनीले नेपालका महिलाको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्त्वलाई स्थापित गर्ने अपेक्षा आयोजकको छ।

दोस्रो चरणमा बर्दिया, नेपालगन्ज, तेस्रो चरणमा पोखरा, बागलुङ, पाल्पा, चौथो चरणमा दाङ, रोल्पा, पाँचौँ चरणमा इलाम, झापा, छैटौँ चरणमा विराटनगर, धरान, भोजपुर र सातौँ चरणमा बुटवल, भरतपुरमा सञ्चालन हुने आयोजकको भनाइ छ। प्रदर्शनी प्रवेश निःशुल्क र खुला रहनुका साथै प्रदर्शनीस्थलमा खरिदका लागि फोटोसम्बन्धी पुस्तक उपलब्ध गराइने पनि नेपाल पिक्चर लाइब्रेरीले जनाएको छ।

नेपाल पिक्चर लाइब्रेरीले तस्वीरको दस्ताबेज र अभिलेख राख्ने उद्देश्यले २०७५ सालदेखि यो परियोजना थालेको थियो भने २०८० सालमा पुस्तकका रूपमा पनि प्रकाशित भएको थियो। यो फोटो प्रदर्शनीले अहिलेसम्म काठमाडौँ (नेपाल), नयाँ दिल्ली (भारत), कोची (भारत), इस्तानबुल (टर्की), सिंगापुर, र ब्रेडा (नेदरल्यान्ड) लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थानको यात्रा गरिसकेको छ।