बाढीपहिरोबाट विस्थापित परिवार १८ दिनदेखि त्रिपालमुनि

काभ्रेपलान्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेको तामाङ बस्ती बगाएपछि स्थानीय बासिन्दा लुइँचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन्।

धुलिखेल– तल बागमती खोला गडगडाएर बगिरहेको छ। माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन्। काभ्रेपलान्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि सो बस्तीका बासिन्दा माथिको लुइँचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका हुन्।

बाढीले बस्ती नै बगाएपछि चनौटेका फुलबहादुर रुम्बा लामा परिवारसहित माथि डाँडामा रहेको भूकम्पको भग्नावशेष बनाएको ठाउँमा त्रिपालको आश्रय लिएर कष्टकर जीवन बिताइरहेका छन्। १८ दिनयता खोलाले बगाएको आफ्नो चनौटे बस्ती हेर्दै दिनरात कटाउने गरेको उनले बताए।  सो डाँडामा उनीसँगै अरू ६ परिवार एउटै त्रिपालमा आश्रय लिएर बस्दै आएका छन्। असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण चनौटेमा रहेको आठ घरसहित, आपसापको खेतबारी सबै बगाएपछि छ।  

“असोज ११ गते रातिको बागमती खोलामा आएको बाढीले घर र खेतबारी सबै बगाएपछि हामी बिचल्लीमा छौँ”, फूलबहादुरले भने, “खोलाले बस्तीसँगै हाम्रो पहिचानसमेत बगाएको छ।” 

परिवारका १२ सदस्यमध्ये सात जनाको नागरिकतालगायत सबै आवश्यक कागजात बाढीले बगाएको उनको भनाइ छ। गाउँपालिकाले तत्कालका लागि आश्रयस्थलका लागि त्रिपाल, खाद्यान्न र ओढ्न कम्बललगायत सामग्री उपलब्ध गराएको छ। त्यसैको सहारामा दिन बिताउँदै आएको उनीहरूको भनाइ छ। 

पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ। सो ठाउँका भक्तबहादुर सिङतान, बुद्धबहादुर, प्रकाश, देवराज, साजन र विक्रम सिङतानका परिवार बस्थे। 

गाउँले जीवन, सम्पत्तिका नाममा रहेको त्यही सानो घर, नजिकै बस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, उन्न उब्जाउ गर्ने बारी र खेत बगाएपछि चनौटेको बस्ती नै विस्थापित भएको छ। बालबालिकासमेत बिचल्लीमा छन्। 

खानीखोला गाउँपालिका–६ का राजन अधिकारी सो ठाउँका विद्यालय जाने २६ बालबालिका अभिभावकसँगै त्रिपालमुनि बस्दै आएका बताए। “नौ बालबालिका त एउटै त्रिपालमुनि बसेका छन्”, उनले भने।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले खुलेखानी ड्यामबाट बगेको पानीले बागमती खोलामा आएको बाढीबाट खानीखोलाको दुई वटा बस्ती पूर्ण रूपमा बगाएको बताए। त्यससँगै बाढीपहिरोले बगाएका कारण कतिपय परिवारको त पालिकाले वितरण गरेको त्रिपाल टाँग्ने जमिनसमेत छैन। 

अध्यक्ष थिङका अनुसार बाढीपहिरोबाट ३० भन्दा बढी खानेपानी आयोजनाका संरचना, सडक, सिँचाइ योजना, विद्यालय, लघु जलविद्युत् आयोजनालगायत संरचना क्षतिग्रस्त भएका छन्।