पार्टीका शुभचिन्तकले दान गरेको जग्गा स्वीकार गरेको एमालेको प्रस्टोक्ति

मीनबहादुर गुरुङले ‘अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले दान गरेको जग्गालाई स्वीकार गरेको, यसमा कुनै किसिमको सौदाबाजी र लेनादेना’ नभएको एमालेको भनाइ छ‍।

काठमाडौँ– पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी खेदजनक भएको नेकपा (एमाले)ले जनाएको छ। एमालेले उक्त विषयलाई लिएर भएका छलफल, बहस र टीकाटिप्पणीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू अत्यन्त खेदजनक छन्, ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लाञ्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भर्त्सनायोग्य छ।”

पार्टीले एक व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व पार्टीका समर्थक, शुभचिन्तक मीनबहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क प्रदान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गरेको जनाएको छ।

जग्गादाता गुरुङ विद्यार्थीकालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैंकिङ क्षेत्रमा पार्टीसम्बद्ध कर्मचारीको केन्द्रीय कार्यसमिति सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामीप्यतामा रहेको तथ्य जगजाहेर भएको एमालेले जनाएको छ।

“अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौँ, यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन,” विज्ञप्तिमा भनिएको छ, “उहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूका बारेमा उहाँ आफैँले फेस गर्ने हो, संविधान, कानूनभन्दा माथि कोही छैन।”

लोकतान्त्रिक मुलुकमा पनि आम रूपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा रहेकाले तथ्यमा आधारित भएर गरिएका आलोचना र सुझावहरू पार्टीका लागि ग्राह्य हुने जनाएको छ।

“विगत नौ वर्षदेखि अस्तव्यस्त केन्द्रीय कार्यालयको स्थायित्वका लागि घरजग्गा खोज्ने क्रममा रहेका थियौँ,” विज्ञप्तिमा भनिएको छ, “यसै सिलसिलामा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक (८–९ वैशाख २०८१, गोदावरी ललितपुर) बाट पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरूलाई सहयोगका लागि सिंगो बैठकबाट आह्वान गरेका थियौँ।”

त्यसयता सम्पन्न केन्द्रीय कमिटीलगायत विभिन्न तहका बैठकद्वारा सहयोगका लागि आह्वान भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कमिटीसमेत गठन भएको बेहोरा सार्वजनिक भएको एमालेले जनाएको छ।

विसं २०७२ मा आएको भूकम्पबाट काठमाडौँ महानगरपालिका–१४ बल्खुमा अवस्थित पार्टी केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) कार्यालयविहीन भएको र त्यसबीचमा भाडामा धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठान, थापाथली हाइट हुँदै ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयलाई केन्द्रीय कार्यालयका रूपमा प्रयोग गर्दै आएको छ।