त्रिपुरासुन्दरीमा मनाइयो दही छ्याप्ने जात्रा (तस्वीरहरू)

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा आपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा मनाइएको छ।

तस्वीरहरू : दिपेन श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा आपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा मनाइएको छ। विजया दशमीको भोलिपल्ट दशैँ सकिएको संकेत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरीमाईलाई दही चढाएपछि आपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लाससाथ जात्रा मनाइन्छ। 

मल्लकालदेखि शुरू भएको यो जात्रा यहाँबाहेक अन्त कतै नभएको र तौथलीको त्रिपुरासुन्दरीमाईको मन्दिरमा प्रत्येक वर्ष लाग्दै आएको त्रिपुरासुन्दरी गाउँपालिकाका विष्णुकुमार श्रेष्ठले बताए।

“ललिता त्रिपुरासुन्दरी महादेवीको मन्दिरमा जात्रा पुग्दा सबैतिर दही नै दहीले सेताम्मे भइसकेको देखिन्थ्यो। महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी)ले महिषासुरको वध गरेको खुशियालीमा मल्लकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको छ,” श्रेष्ठले भने। 

गुठियार, स्थानीयले भैँसीले सधैँ दूध दिइरहोस् र पशुपालन व्यवसाय सप्रिँदै जाओस् भन्ने कामना गरी दही ल्याएर चढाउने चलन रहेको छ। “खासमा दही प्रसादको रूपमा बाँडिएको हो, सबैलाई दिएर साध्य नहुने भएपछि चारैतिर छ्यापाछ्याप गरिन्छ,” उनले भने।