सन्तान छाडेर श्रम गर्न बिदेसिँदै आमाहरू, भन्छन् – घर चलाउन घरै छाड्नुपर्‍यो

बालबच्चाको पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भएको उनीहरूको भनाइ छ। ऋण गरेर स्वदेशमै व्यापार व्यवसाय गर्नेबारे सोचे पनि आँट्न नसकेपछि बिदेसिन बाध्य भएको उनीहरू बताउँछन्।

काठमाडौँ– दशैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रूपा गिरी मलेसिया उडिन्। मलेसिया जाँदैगर्दा गिरीले भावुक हुँदै भनिन्, “घर चलाउन, घरै छाड्नुपर्‍यो।” 

घरको आर्थिक स्थिति सुधार्न बिदेसिन लागेको उनको भनाइ थियो। कक्षा ११ को पढाइ बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा बच्चाको जन्म भयो। कलाकारिता पेसामा आबद्ध श्रीमान्को कमाइले परिवार चलाउन धौधौ भयो। 

बच्चालाई स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भयो। उनले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोचेकी होइन तर लगानी गर्ने आँट नभएपछि बिदेसिन बाध्य भएको बताइन्। 

“सन्तान छाडेर बिदेसिने कुन आमालाई खुशी मिल्छ होला र?”, उनी भन्छिन्, “मुटुमा ढुंगा राखेर जान लागेकी छु। राम्रै कम्पनी परे त ठिकै हो। नभए के गर्ने थाहा छैन।” गिरीसँगै कामदारका रूपमा विदेश जान आठ महिला तयार थिए। ती सबै आमाहरू थिए। 

त्यही लहरमा भेटिएकी झापाकै ३४ वर्षीया सरस्वती तामाङको अनुहार मलिन देखिन्थ्यो। आफ्नै नाम भन्न लजाउने तामाङले समुद्रपारिको मुलुकमा कसरी काम गर्नुहुन्छ? भन्ने प्रश्नको जवाफ छोटोमा दिइन्, “जे त होला।” 

तामाङले ५ कक्षासम्म मात्रै पढेकी छन्। सानैमा बिहे भयो। १० वर्षकी छोरी छोडेर बिदेसिनु कुनै महत्त्वाकांक्षा नरहेको उनको भनाइ छ। “यो मेरो बाध्यता हो”, उनी भन्छिन्, “छोरी हुर्किँदै छे, उसलाई मेरो जरुरी पर्छ तर गरिबीले बिदेसिने बनायो।” 

तामाङका श्रीमान् सवारी चालक हुन्। सुकुमबासी बस्तीमा बस्ने उनीहरूको जग्गा जमिन छैन। घर चलाउन श्रीमान्लाई विदेश पठाउने तयारी गरे पनि स्वास्थ्य परीक्षण गर्दा छातीमा दाग देखिएपछि उनले आफैँ बिदेसिने निधो गरेकी हुन्। 

“नेपालको कमाइले पुग्दैन। महँगी छ। त्यसैले बिदेसिनुको विकल्प देखिनँ”, उनले भनिन्। 

स्याङ्जाकी धनु घले दुई छोराछोरीकी आमा हुन्। श्रीमान्ले काम नगर्ने, जाँडरक्सी खाएर कुटपिट गर्ने गरेपछि उनले ‘फुटपाथ’मा साग बेचेर जीविकोपार्जन गर्दै आएकी थिइन्। छोराछोरी पढाउन र हुर्काउन गाह्रो भयो। श्रीमान्लाई फकाएर मलेसिया पठाइन्। 

विदेश गएका श्रीमान्ले खर्च पठाउने आशामा पाँच वर्ष बित्यो तर श्रीमान्ले न त पैसा पठाए न त फोन सम्पर्क नै गरे। हातमुख जोर्न मुस्किल भएपछि ४२ वर्षीया घलेले छोराछोरीलाई छात्रावासमा राखेर दुबई जान लागेको बताइन्। 

“विदेश गएको श्रीमान्ले एक सुको पठाएन, वास्तै गरेन”, उनले भनिन्, “छोराछोरी पाल्ने कोही नभएपछि उनीहरूकै भविष्यका लागि बिदेसिन लागेकी हुँ।”

वैदेशिक रोजगार विभागको सन् २०२२ को तथ्यांकमा वैदेशिक रोजगारमा जाने महिलाको उमेर समूहमा २४ देखि ३४ वर्षका ५२.३ प्रतिशत, १८ देखि २४ उमेरका ३२.३ प्रतिशत र ३५ देखि ४४ वर्ष उमेरका १४.६ प्रतिशत र ४५ देखि माथिका ०.८ प्रतिशत उल्लेख छ। 

विभागका अनुसार बर्सेनि ६० हजार हाराहारीको संख्यामा महिला वैदेशिक रोजगारीमा जाने गरेका छन्। आर्थिक वर्ष २०७८/०७९ मा ४९ हजार महिला वैदेशिक रोजगारीमा गएका थिए। आर्थिक वर्ष २०७९/०८० मा ७२ हजार महिला श्रम गर्न विदेश गए। आर्थिक वर्ष २०८०/८१ मा भने वैदेशिक रोजगारीमा जाने महिलाको संख्या वृद्धि भई ८० हजार पुगेको छ। 

वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकाल तुलनात्मक रूपमा पुरुषभन्दा महिला कमै विदेश जाने गरेको देखिए पनि पछिल्लो तथ्यांकले रोजगारका लागि विदेश जानेक्रम बढ्दो अवस्थामा रहेको बताउँछन्। उनका अनुसार खाडी मुलुक जाने महिलाको संख्यामा क्रमशः वृद्धि भइरहेको छ। 

“अधिकांश महिला साउदी, मलेसिया, कुवेत, कतार, यूएईलगायत खाडी मुलुकमा रोजगारका लागि जानुहुन्छ”, प्रवक्ता ढकालले भने, “त्यसमा पनि श्रम स्वीकृति नलिई लुकेर जानेहरूको तथ्यांक पाउन मुस्किल छ।” 

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले वैदेशिक रोजगारमा आमा जान बाध्य हुँदा परिवारमा नकारात्मक असर परेको बताउँछिन्। आयोगले एक वर्षअघि गरेको तथ्यांकको विश्लेषण गर्दै भनिन्, “आमा नहुँदा घर परिवार लथालिंक भएको छ।” 

राज्यले स्वदेशमै रोजगारीको सुनिश्चितता नगर्दा नागरिकले सास्ती खेप्नुपरेको उनको भनाइ छ।

पौरखी नेपालका पूर्वअध्यक्ष मञ्जु गुरुङका अनुसार आमाहरू परिवार पाल्न बिदेसिनुमा सामाजिक, आर्थिक, राजनीतिक पक्षहरू मुख्य छन्। संस्थाले विदेश जानुअघि परामर्श दिने, सकेसम्म स्वदेशमै बस्न उत्साहित गर्ने र नभएमा विदेश जाँदा अपनाउनुपर्ने सचेतताबारे परामर्श दिँदै आएको उनले बताइन्। 

बितेका १५ वर्षमा पाँच हजार बढी वैदेशिक रोजगारीमा अलपत्र महिलाको उद्धार गरिएको उनले जानकारी दिइन्। “नेपाली समाजमा महिलाले थुप्रै विभेद सहन बाध्य छन्”, उनी भन्छिन्, “जसले गर्दा घर छोडेर कमाउन बिदेसिएका छन्।” 

आमाहरूलाई स्वदेशमै टिकाउन राज्यले उद्यमशील नीति ल्याउन जरुरी रहेको उनको सुझाव छ।