तस्करी रोक्न जनावरको वैध व्यापार, प्रयोगशालामै गरिन्छ उत्पादन

यी जीवहरूको कानूनी उपलब्धताले तस्करी कम हुनका साथै मूल्य पनि घटेको छ। तर पर्यावरणविद्हरू भने कानूनी वन्यजन्तु व्यापारसँग धेरै खुसी छैनन्।

कोलम्बियाको राजधानी बोगोटा नजिकै रहेको ‘टेसोरोस डे कोलम्बिया’ (कोलम्बियाको खजाना) नामक प्रयोगशालामा १४ प्रकारका दुर्लभ भ्यागुता पालिएका छन्। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण ‘हार्लेक्विन पोइजन डार्ट फ्रग’ हो। 

यो प्रजनन वातावरण संरक्षणको लागि विशेष योजनाको एक हिस्सा हो, जसको उद्देश्य कानूनी रूपमा पालिएका भ्यागुताहरू प्रयोग गरेर तस्करहरूको अवैध व्यापार अन्त्य गर्ने लक्ष्य राखिएको छ। संयुक्त राष्ट्रसंघका अनुसार, वन्यजन्तु तथा जीवजन्तुको अवैध व्यापार संसारको चौथो सबैभन्दा लाभदायक अवैध व्यापार हो, जसले प्रत्येक वर्ष २३ अर्ब डलर कमाउँछ।

कोलम्बियाको काली शहरमा यस हप्ता शुरू हुने यूएन कोप-१६ जैविक विविधता सम्मेलनमा, प्रतिनिधिहरूले हात्तीको दाँतदेखि सालक (प्यांगोलिन)को छालासम्मको तस्करीबारे छलफल गर्नेछन्। चीनमा प्रयोग हुने सालक नेपालसहित एशियाली देशहरूमा मारिन्छन्।

कोलम्बियामा विश्वका उभयचर जीवहरूको करिब १० प्रतिशत पाइन्छ। तीमध्ये एक विषालु डार्ट भ्यागुता पनि हो, जसलाई चोको जंगलबाट पक्रेर विदेश तस्करी गरी सजावटका लागि राखिने गरिन्छ।

अवैध व्यापार अन्त्य गर्ने तरिका
यस्तो बेचबिखन नियन्त्रण गर्न, धेरै देशहरूले जंगली जनावरहरूको कानूनी व्यापारलाई अनुमोदन गरेका छन्। प्रजनन योजनाहरू अन्य देशहरूमा पनि सञ्चालित छन्, जस्तै जैविक विविधताको अर्को केन्द्र कोस्टारिका, जसले आफ्नो जंगलको रक्षा गर्न पुतलीहरू प्रजनन गर्ने योजनाहरू चलाउँदैछ।

टेसोरोस डे कोलम्बियाका संस्थापक इभान लोजानो भन्छन्, "यदि त्यहाँ भ्यागुताहरूको अन्तर्राष्ट्रिय माग छ भने, नयाँ घरहरूमा पुनः उत्पादन गर्न सक्ने कानूनी रूपमा खेती गरिएका भ्यागुताहरू उपलब्ध गराउनु महत्त्वपूर्ण छ।"

कोलम्बियामा भ्यागुता तस्करी एक अपराध हो, जसमा ५ देखि १२ वर्षको जेल सजाय हुन्छ। कोलम्बिया जैविक विविधताको हिसाबले ब्राजिलपछि विश्वमा दोस्रो स्थानमा छ। तर अमेरिका र धेरै युरोपेली देशहरूमा तस्करी गरिएका उभयचरहरूमा कुनै प्रतिबन्ध छैन।

‘टेसोरोस डे कोलम्बिया’ले सात प्रजातिका भ्यागुताहरू निकासी गर्छ र थप सात प्रजातिका भ्यागुताहरूको लागि अनुमति पर्खिरहेको छ। भ्यागुताको कानूनी उपलब्धताले तस्करीका नमूनाको मूल्य घटेको छ। गोल्डेन पोइजन फ्रग वा फिलोबेट्स टेरिबिलिसको मूल्य पहिले १५० डलर थियो, जुन अहिले ४० डलरमा झरेको छ।

तर पर्यावरणविद्हरू भने कानूनी वन्यजन्तु व्यापारसँग धेरै खुसी छैनन्। एशियामा परम्परागत औषधिमा प्रयोग हुने गैँडाको सिंगको बजारलाई वैधानिकीकरणले माग बढाउने र कानून कार्यान्वयन गर्ने निकायलाई गैरकानूनी स्रोत पहिचान गर्न कठिन हुने विज्ञान पत्रिका ‘साइन्स’ले हालैको प्रतिवेदनमा चेतावनी दिएको छ। –एपी