काभ्रेमा बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी स्थगित

बाढीपहिरोमा परी काभ्रेमा ६ जना अझै बेपत्ता छन्। धेरै दिनसम्म खोजतलास गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

काभ्रेपलान्चोक– गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी काभ्रेमा ७८ जनाको ज्यान गएको छ भने ६ जना अझै बेपत्ता छन्।

धेरै दिनसम्म खोजतलास गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

बाढीपहिरोमा बेपत्ता हुनेमा तेमाल गाउँपालिका–२ का ३ र ६ वर्षीया दुई बालिका प्रिया तामाङ र अप्रिया तामाङ छन् । उनीहरू पहिरोले घर पुरिँदा बेपत्ता भएका हुन्।

त्यस्तै, चौँरीदेउराली गाउँपालिका–६ का ४० वर्षीया शान्ता रिमाल बेपत्ता छिन्। एक हप्तासम्म खोजी गर्दा उनी फेला नपरेको प्रहरीले जनाएको छ।

धुलिखेल नगरपालिका–८ निवासी ४२ वर्षीया गीता श्रेष्ठ पनि अझै बेपत्ता रहेको जनाइएको छ। बेथान्चोक गाउँपालिका–४ की ३८ वर्षीया ज्ञानु परियार र खानीखोला गाउँपालिका–६ की ३७ वर्षीया देवीमाया सिंतान अझै बेपत्ता छन्।

बेपत्ताको खोजतलास गरिए पनि फेला पर्न नसकेको जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्काको भनाइ छ। उनका अनुसार बाढीपहिरोमा परी ७५ जना घाइते भएका थिए।

बाढीपहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकाका १८ जना छन्। रोशी गाउँपालिकाका १३, तेमालका १२, बेथान्चोकका १२, मण्डनदेउपुर र नमोबुद्ध नगरका सात/सात तथा बनेपा र भुम्लुका तीन/तीन जनाले ज्यान गुमाए। धुलिखेल नपाका दुई र चौँरीदेउरालीका एक जनाले बाढीपहिरोमा ज्यान गुमाए।

काभ्रेपलान्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन। 

काभ्रेपलान्चोकमा बाढीपहिरोमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ। यसमध्ये २१ विद्यार्थी हुन्। 

सरकारद्वारा बाढीपहिरो र डुबानबाट अतिप्रभावित स्थानीय तह घोषित गरेकामध्ये ‘विपद् संकटग्रस्त क्षेत्र’अन्तर्गत रोशी, तेमाल, बेथानचोक, चौँरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन्। 

सरकारले बाढीपहिरोमा मृतक परिवारलाई तत्काल उपलब्ध गराउने दुई लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिसकिएको छ। 

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार मृतक परिवारलाई सरकारद्वारा उपलब्ध रकम दशैँअघि बुझाइएको हो। बेपत्ताको हकमा कुनै निर्णय भएको छैन।