नेप्से परिसूचकमा सामान्य वृद्धि, ७ अर्बको कारोबार

नेप्से परिसूचक २.४७ अंकले उकालो लागेर २७४५.३६ मा पुगेको छ भने सात अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।

काठमाडौँ– धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.४७ अंकले उकालो लागेर २७४५.३६ मा पुगेको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३१ अंकले उकालो लागेर ४९५.३० मा पुगेको छ। कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य उकालो लाग्दा छ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ।

कुल एक करोड ८८ लाख सात हजार ४९२ कित्ता शेयर सात अर्ब १९ करोड २७ लाख ९२ हजार १६६ मूल्यमा कारोबार भएको छ। कारोबार रकम अघिल्लो दिनभन्दा बढी हो। बुधबार पाँच अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

नेप्सेका अनुसार गुडविल फाइनान्स ७.६३, एनआईसी एशिया सेलेक्ट फन्ड ६.१९, सनराइज ब्ल्यूचिप फन्ड ६.१४, समाज लघुवित्त ५.१२ र रावा इनर्जीका लगानीकर्ताले ५.१२ प्रतिशतले कमाएका छन्।

यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावर ५.१९, मिड सोलु हाइड्रोपावर ५.०३, सामुदायिक लघुवित्त ४.४७, नेपाल एसबिआई बैंकको ऋणपत्र ३.८८ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ३.४१ प्रतिशतले गुमाएका छन्।