बुद्धसिंह राजमार्गको नाल्दीघाटखण्ड २० दिनदेखि अवरुद्ध

नाल्दीको पहिरोका कारण यातायात सञ्चालन नहुँदा बन्दीपुर गाउँपालिका–६, आबुँखैरेनी गाउँपालिका–५, देवघाट गाउँपालिका–३ र ४ का स्थानीयलाई आवतजावतमा समस्या भएको छ।

दमौली– बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाटखण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन्। चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा गर्न बाध्य रहेको स्थानीय सिद्धान्त थापाले गुनासो गरे। 

पहिरोका कारण उक्त सडकको व्यास नगरपालिकास्थित बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघरलगायत स्थानमा सडक अवरोध भएको थियो। नाल्दीको पहिरो हटाउन पटक–पटक माग गरे पनि सुनुवाइ नभएको थापाको भनाइ छ। 

नाल्दीको पहिरोका कारण यातायात सञ्चालन नहुँदा बन्दीपुर गाउँपालिका–६, आबुँखैरेनी गाउँपालिका–५, देवघाट गाउँपालिका–३ र ४ का जनता मारमा छन्। 

गण्डकी प्रदेश सरकारले यस मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न प्रक्रिया अघि बढाएको छ। सदरमुकाम दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट सुँढेसम्म कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको छ।

दमौलीबाट सुडेसम्म करिब १० किमी खण्डमा ‘आक्सफाल्ट प्रविधि’ को सडक कालोपत्रका लागि निर्माण अघि बढाइएको छ।