बसाइँसराइले रित्तिएको गडीगाउँ: न दौँतरी छन् न छिमेकी

गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन्। २०७८ सालको जनगणनाअनुसार यहाँ ३८ घरमा ३६६ जनाको बसोबास थियो । हाल १७ घरमात्र छन्। जनसंख्या १२० मा झरेको छ। 

दैलेख– महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ। यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ। गाउँका अगुवा धनबहादुर थापा  भन्छन्, “बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ।”

१० वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले औँलामा गन्न सकिने मानिस भेट्न कठिन छ। गाउँका युवा शहर पसेपछि अहिले यहाँ मलामी पनि नभेटिने अवस्था छ। भौतिक विकासमा अग्रसर देखिने सरकार ग्रामीण बस्तीबाट हुने बसाइँसराइ रोक्नेतर्फ नलागेको उनीहरूको गुनासो छ। 

गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन्। २०७८ सालको जनगणनाअनुसार यहाँ ३८ घरमा ३६६ जनाको बसोबास थियो हाल १७ घरमात्र छन्। जनसंख्या १२० मा झरेको छ। 

“पहिले बस्तीमा चहलपहल थियो, चाडबाडमा युवादेखि केटाकेटीसम्म सबै जम्मा हुने गर्थे, अहिले मानिस सुविधायुक्त स्थानमा जान थाले गाउँका बस्ती बाँझो जमिनमा परिणत भयो, उनले भने, “बस्ती सबै रित्तो भो, सबै टोलमा यस्तै समस्या छन्।”

यस्तै गुनासो छ, रावत टोलका ७० वर्षीया दानबहादुर रावतको पनि। ७० वर्षमा सहजै हिँडडुल गरी काम गर्न सक्ने उनलाई छिमेकीका घरको आँगन पनि परदेशजस्तो लाग्न थालेको छ। “निकै अप्ठ्यारो महसुस भएको छ, दिनभरि घरमा एक्लै बस्छु, दिन काट्न मुस्किल छ, न दुःखसुखका कुरा गर्ने दौँतरी छन् न छिमेकी नै।”

दानबहादुरको दुःखभन्दा कम छैन महाबु गाउँपालिका–५ काशीकाँधका ६९ वर्षीय दानेश्वर खत्रीको पनि। “गाउँमा रोजगारी भएन, सुविधा खोज्दै युवा शहर गए, परिवार पनि उतै लगे, अनि गाउँमा को आएर बस्छ,” उनले भने। दशैँको मुखमा घरमा पालेका खसीबाख्रासमेत चितुवा आएर मारिदियो। मकै लगायो बाँदर र बँदेलले सखाप पार्छ। दुःख गरेर बसेका किसानलाई समेत गाउँ छाड्नुपर्ने बाध्यता छ। “उब्जनी हुने बाली भित्र्याउन नपाएपछि गाउँमा के खाएर बाँच्ने?,” उनले भने। 

शहरी क्षेत्रमा बसाइँ सर्ने क्रम बढेसँगै गाउँ रित्तिएको महावु गाउँपालिका–५ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए। बसाइँसराइ रोक्न पालिकाले कृषिमा लगानी बढाउँदै गएको उनको भनाइ छ। 

“परम्परागत उत्पादनलाई जंगली जनावरले नष्ट गर्न थाले पनि कृषि उत्पादनलाई बढावा दिन गाउँपालिकाले मकै, अलैँची र आलु पकेट क्षेत्र र पशुपालन पकेट क्षेत्र छनोट गरेको र सोहीअनुसार काम शुरू गरेको छ,” उनले भने। 

ग्रामीण बस्ती खाली हुनुको एक कारण जंगली जनावरको आतंक पनि हो। आफ्नै खेतबारीमा लगाएको खेतीले वर्षभरि खान पुग्ने ग्रामीण बस्तीका बासिन्दाले पछिल्ला वर्षमा खेती लगाउन छाडेका छन्। लगाएको खेती नपाक्दै बाँदर र बँदेललगायत जंगली जनावरले नास गर्न थालेपछि पाखाबारी बाँझो छाडेर नागरिक परिवारको गर्जो टार्न कामको खोजीमा भारतलगायतका सुविधासम्पन्न शहर पस्न थालेका हुन्। 

बाँझो बारीले परिवारलाई खान नपुग्ने भएपछि गाउँका नागरिक शहर पस्न थालेको महावु गाउँपालिका–५ का तुलबहादुर रिजालले बताए।