जनसरोकारका विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने विपक्षी दलको निर्णय

बैठकले बाढीपहिरोमा परेकाहरूको खोज, उद्धार, उपचार र पुनर्स्थापनाका बारेमा सरकारले गम्भीरताका साथ काम नगरेको निष्कर्ष निकालेको छ।

काठमाडौँ– विपक्षी दलहरूले सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए। 

बैठकमा सरकार प्राकृतिक विपद्को पूर्वतयारी, खोज र उद्धारमा जिम्मेवार नभएको समीक्षा भएको बताए। यही विषयलाई लिएर सरकारलाई ज्ञापनपत्र बुझाउने समझदारी भएको उनले जानकारी दिए ।

“बाढीपहिरोमा परेकाहरूको खोज, उद्धार, उपचार र पुनर्स्थापनाका बारेमा सरकारले गम्भीरताका साथ काम गरेन,” उपमहासचिव बस्नेतले भने, “यसबारे सरकार उदासीन छ र जनताप्रति जवाफदेही भइराखेको छैन। जनताका सरोकारका विषय सम्बोधन गर्नेभन्दा सरकार पार्टीगत स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढेको देखिएको छ। यी सबै कुरालाई ध्यानमा राखेर प्रतिपक्षी दलहरूका तर्फबाट सरकारलाई ज्ञापनपत्र पेस गर्ने भन्ने भएको छ।”

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बैठक बसेको हो। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र आम जनता पार्टीका शीर्षसहित नेता सहभागी थिए।