सिन्वारले त्यसबेला आफ्नो सुरक्षाका लागि कुनै बन्धकलाई ढालको रूपमा प्रयोग नगरेको देखिनुलाई उनको सुरक्षामा खटिएका हमास कार्यकर्ता सबै मारिएका हुनसक्ने इजरायली सेनाले जनाएको छ।
इजरायलले गाजामा रहेका हमास नेता याह्या सिन्वार मारिएको दाबी गरेको छ। गत वर्ष अक्टोबर ७ मा हमासको हमलाको मुख्य योजनाकार मानिएका सिन्वार बुधबार दक्षिणी गाजामा इजरायली सेना (आईडीएफ)सँगको मुठभेडमा मारिएका हुन्।
अक्टोबर ७ को हमलापछि ६१ वर्षीय सिन्वार बेपत्ता थिए। इजरायली सेनाले पनि उनको खोजी गरिरहेको थियो। यस अवधिमा उनले आफ्नो अधिकांश समय गाजा पट्टीमा बनेको सुरुङमा बिताउने गरेको बताइएको छ। सिन्वारसँगै उनका अंगरक्षक पनि मारिएका आईडीएफको दाबी छ।
इजरायली सेनाको ८२८औँ बिस्लामाक ब्रिगेडले बुधबार रफाहको ताल अल सुल्तान क्षेत्रमा गस्ती गरिरहेको थियो। आईडीएफका प्रवक्ता ड्यानियल हगारीले आफ्नो सेनालाई सिन्वार त्यहाँ रहेको थाहा नभएको बताएका छन्। उनका अनुसार तीन जना मानिस एक घरबाट अर्को घरतिर दौडिरहेका थिए, त्यही क्रममा आईडीएफले उनीहरूमाथि ड्रोन आक्रमण गरेको थियो।
मुठभेडपछि शव पहिचान गर्दा एउटा शवको अनुहार याह्या सिन्वारको जस्तै देखिन्थ्यो। तर, शव त्यहीँ नै परिरह्यो। आईडीएफले उक्त शवको पहिचान गर्न एउटा औंला काटेर परीक्षणको लागि इजरायल पठाइएको थियो। पछि सोही दिन पूरै क्षेत्रलाई सुरक्षा घेरामा हालेर सिन्वारको शव त्यहाँबाट निकालेर इजरायल ल्याइएको थियो।
बिहीबार दिउँसो इजरायलले गाजामा सिन्वार मारिएका हुन् कि होइनन् भनेर अनुसन्धान गरिरहेको बताएको थियो। केही पछि, इजरायली स्रोतले ती व्यक्ति सिन्वार नै भएकोमा आफू विश्वस्त रहेको बीबीसीलाई बताएको थियो। त्यही दिन साँझसम्म इजरायलले उनीहरूले अनुसन्धान पूरा गरेको र सिन्वार मारिएको घोषणा गरेको थियो।
सिन्वारले त्यसबेला आफ्नो सुरक्षाका लागि कुनै बन्धकलाई ढालको रूपमा प्रयोग नगरेको देखिनुलाई या उनी चुपचाप लुक्न खोजेको या उनको सुरक्षामा खटिएका हमास कार्यकर्ता सबै मारिएका हुनसक्ने इजरायली सेनाले जनाएको छ।
उनको मृत्यु ‘छलपूर्वक भएको यहुदी आक्रमण’मा परेर भएको हमासले जनाएको छ। हमासको राजनीतिक विभागका सदस्य मुसा अबु मार्जुकले उक्त आक्रमणलाई ‘कायर कृत्य’को संज्ञा दिँदै त्यसको जबाफ दिइने बताएका छन्। हमासका अर्का नेता समी अबु जुहरीले हमास आफ्नो ‘पथमा चलिरहने’ बताएका छन्।
इजरायलका रक्षामन्त्री योभ गालान्ट सिन्वार कुनै सेनापतिका रुपमा नभएर आफ्नो स्वार्थका लागि मरेको टिप्पणी गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘शैतान’लाई ‘ठूलो प्रहार’ गरेको बताएका छन्। साथै उनले गाजामा इजरायलको युद्ध अझै समाप्त नभएको चेतावनी दिएका छन्।
को हुन् सिन्वार?
गत जुलाईमा हमासका सर्वोच्च नेता इस्माइल हानियाको हत्या भएपछि सिन्वारले नै समूहको नेतृत्व गर्दै आएका थिए।
अबु इब्राहिमको नामबाट समेत चिनिने सिन्वारको जन्म सन् १९६२ मा गाजा शहरको खान युनिसको शरणार्थी शिविरमा भएको थियो। उनी सन् १९८७ मा गठन भएको हमासका प्रारम्भिक सदस्यहरूमध्ये एक थिए। उनले समूहको सुरक्षा शाखाको नेतृत्व पनि गरे।
सन् १९८० को दशकको अन्त्यतिर इजरायलले उनलाई पक्राउ गरेको थियो। यसैबीच, उनी मस्तिष्कको क्यान्सरबाट पनि पीडित थिए तर इजरायली डाक्टरहरूले उपचार गरेपछि २००८ मा निको भए। त्यसको केही समयपछि इजरायली सिपाही गिलाड शालितको सट्टामा १०२७ प्यालेस्टिनी बन्दीहरूलाई इजरायली जेलबाट रिहा गरियो, जसमध्ये सिन्वार पनि थिए।
उनी आफ्नो क्रूरताका लागि कुख्यात थिए र छिट्टै हमासको नेतृत्वमा पुगे। उनले १२ संदिग्ध सहयोगीहरूको पनि हत्या गरे, त्यसपछि उनी खान युनिसको कसाई भनेर चिनिन थाले।
गत जुलाई ३१ मा इरानको राजधानी तेहरानमा इजरायली आक्रमणबाट हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियाको हत्या भएको थियो। त्यसपछि हमासले सिन्वारलाई आफ्नो प्रमुख नेता चुन्यो। तर, त्यसैबेला इजरायलले सिन्वारलाई लिएर चेतावनी दिएको थियो। इजरायलका विदेशमन्त्री काट्जले हमासका नयाँ प्रमुखलाई पनि चाँडै नै हटाउने बताएका थिए।
को होला अब हमास प्रमुख?
खालेद मेसललाई हमासको नयाँ नेताका रूपमा हेरिएको छ। सन् १९९७ मा जोर्डनको राजधानी अम्मानमा इजरायली एजेन्टहरूले उनको हत्या गर्ने असफल प्रयास गर्दा मेसलले विश्वव्यापी पहिचान पाएका थिए। मेसललाई विष खुवाइयो तर उनी बाँचे। ६८ वर्षीय मेसललाई इजरायलले मृत्युदण्ड दिने प्रयास गरेको थियो तर निर्वासनमा रहँदा उनी हमासको नेता बने। त्यसपछि उनले विश्वभरका विदेशी सरकारहरूसँग भेटघाट गरे र प्यालेस्टिनी इस्लामवादी समूहको प्रतिनिधित्व गर्न सक्षम भए। प्यालेस्टाइन र हमासजस्तै खालेद मेसलको उद्देश्य गाजालाई इजरायली कब्जाबाट मुक्त गराउनु हो।
यस्तै, सिन्वारका उपनेता खलील अल–हय्याको नाम पनि हमास प्रमुखको चर्चामा छ। कतारमा बस्ने हैयाले बन्धकहरूको रिहाइ र युद्धविरामका लागि वार्ताको नेतृत्व गरिरहेका छन्। हयालाई इरानको अझै निकटस्थ पनि मानिन्छ। सन् २००७ मा इजरायलले उनको घरमा आक्रमण गरेको थियो, तर उनी भागे।
हमासको राजनीतिक ब्युरोका सदस्य तथा संस्थापकमध्येका मूसा अबु मारजुकको नाम पनि चर्चामा छ। उनले युनाइटेड अरब इमिरेट्सबाट राजनीति शुरू गरेका थिए। उनले प्यालेस्टिनी मुस्लिम ब्रदरहुडको शाखा स्थापना गरे। त्यसपछि उनले अमेरिकामा इस्लामिक संस्था स्थापना गरे। सन् १९९६ मा उनीमाथि इजरायलले हमासलाई आर्थिक सहयोग गरेको आरोप लगाएको थियो। उनले म्यानहट्टन जेलमा २२ महिना पनि बिताए। पछि अमेरिकाले उनलाई जोर्डनको निर्वासनमा पठाएको थियो।
–एजेन्सीहरूको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
