सडक अभावमा विषादीरहित स्याउ खेर गइरहेकोप्रति सरकारको ध्यानाकर्षण

उत्पादन महाअभियान नेपालका संयोजक रमेश पण्डितले किसानको स्याउ बारीमै कुहिनबाट जोगाउन र किसानलाई पलायन हुनबाट रोक्न राज्यका सबै निकायले ध्यान दिनुपर्ने बताए।

काठमाडौँ– ‘उत्पादन महाअभियान नेपाल’ले अर्बौं रुपैयाँको विषादीयुक्त स्याउ विदेशबाट आयात गर्दा नेपालको अर्ग्यानिक स्याउ बारीमै कुहिन लागेको गुनासो गरेको छ। शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलन गरी महाअभियानले गोरखामा तीन वर्षदेखि व्यावसायिक स्याउ उत्पादन हुन थालेको भए पनि बाटो अभावका कारण बजारमा पुर्‍याउन नसकेको बताएको हो।

उत्पादन महाअभियान नेपालका संयोजक रमेश पण्डित (तुफान)ले किसानको स्याउ बारीमै कुहिनबाट जोगाउन र किसानलाई पलायन हुनबाट रोक्न राज्यका सबै निकायले ध्यान दिनुपर्ने बताए।

नेपालको विभिन्न ठाउँमा फलेका रसिलो, स्वास्थ्य, पोसिलो र विषादीरहित स्याउ अहिले बारीमै कुहिन थालेको तर ग्राहकले बजारमा अर्बौंको विदेशबाट आयातित विषादीयुक्त स्याउ किनेर खाइरहेका अवस्था रहेको उनको भनाइ छ।

“बाटो अभावको कारण उक्त स्याउ बजारमा आउन सकेको छैन,” उनले भने, “यसतर्फ राज्यका सम्पूर्ण निकायका ध्यानाकर्षण गराउँदै आएका छौँ। यद्यपि सरकारको ध्यान त्यसतर्फ जान सकेको छैन। त्यसैले किसानको स्याउ बारीमै कुहिनबाट जोगाउन र किसानलाई पलायन हुनबाट रोक्नको लागि हामीले राज्यको ध्यानाकर्षण सशक्त रूपमा गराउन चाहन्छौँ।”

उनले दुई हजार पाँच सयदेखि तीन हजार मिटर उचाइको हिमाली क्षेत्रमा किसानले उत्पादन गरेको स्याउलाई बजारसम्म ल्याउने विषयमा गम्भीर छलफल गर्न आवश्यक रहेको बताए। महाअभियानको पहलमा हेलिकप्टरबाट ४५० किलो स्याउ बजार पुर्‍याउँदा प्रतिकिलोग्राम ६६६ रुपैयाँ पर्न गएको उल्लेख गर्दै उनले सरकारले बाटोघाटो निर्माणमा समेत तदारुकता देखाउन जरुरी रहेको बताए।

“यसरी हेलिकप्टरमार्फत ल्याउँदा ठूलो धनराशि खर्च गरेर बजारसम्म पुर्‍याउन सक्ने गरी किसानको हैसियत बनिसकेको छैन। यसका लागि बाटो र सडक निर्माणमा सरकारले ध्यान दिन जरुरी रहेको छ,” उनले भने।