हाँडीगाउँमा ‘कहीँ नभएको जात्रा’को रौनक (तस्वीरहरू)

बोलीचालीमा ‘कहीँ नभएको जात्रा’ भनिए पनि यसलाई हाँडीगाउँका बासिन्दा चोक्टे नारायणको जात्रा भन्छन्। उल्टो खट र मैनको फूल प्रयोग हुनाले अन्य जात्राभन्दा यो जात्रा फरक भएको हो।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– हाँडीगाउँमा ‘कहीँ नभएको जात्रा’को रौनक शुरू भएको छ। कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कात्तिक कृष्ण प्रतिपदाका दिन काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँमा यो जात्रा मनाइन्छ। जनजिब्रोमा ‘कहीँ नभएको जात्रा हाँडीगाउँ’मा भनिए पनि यो जात्राको असली नाम भने ‘चोक्टे नारायण’ जात्रा हो। यो जात्राको विशेष आकर्षण भनेको जात्रामा पुजिने र नगर परिक्रमा गराइने तीन खट हुन्। साबिकका जात्राको रथ अथवा खट प्यागोडा शैलीमा बनाउने गरेको पाइन्छ। तर हाँडीगाउँमा मनाइने जात्राको खट त्यसको ठ्याक्कै उल्टो हुन्छ। खटको गजुर फेदमा र भगवान‍्को मूर्ति टुप्पोमा हुन्छ। तीनतले छत्रजस्तो देखिने गजुर मुनितिर फर्काई सिस्वाँ (मैनको फूल)ले छोपेर विचित्र ढंगले जात्रा हुन्छ। चोक्टे नारायणको जात्रामा हाँडीगाउँको तीन टोलका तीन खट स्थापित हुन्छन्। गहनापोखरीको सिधा पूर्वमा रहेको टोल कोटोल हो जहाँ महेश्वरको खट बनाइन्छ। त्यस्तै, बीचको टोल हो न्याल्मटोल जहाँ विष्णुको खट राखिएको हुन्छ भने वडा कार्यालयबाट पूर्वमा रहेको टोललाई थतुटोल भनिन्छ। यस टोलमा ब्रह्माको खट बनाइन्छ। यसरी तीन भिन्न टोलमा तीन देवताका खट स्थापना गरी पूजा गरिन्छ। हेर्नुहोस् तस्वीरहरू :