विद्युतीय गाडी वृद्धिसँगै ‘चार्जिङ स्टेसन’ अपुग, भाडादर महँगो भएको यात्रुको गुनासो

सवारीसाधनको चाप हुने प्रमुख सडकमार्ग आसपासमा पर्याप्त ‘चार्जिङ स्टेसन’ नहुँदा अनेकौँ समस्या बेहोर्नुपरेको यात्रुसहित यातायात व्यवसायीले गुनासो गरेका छन्।

फाइल तस्वीर

ललितपुर– नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि भएसँगै ‘चार्जिङ स्टेसन’ कम हुँदा समस्या झेल्नुपरेको गुनासो सम्बद्ध सवारीधनी तथा चालकले गरेका छन्। 

सवारीसाधनको चाप हुने प्रमुख सडकमार्ग आसपासमा पर्याप्त ‘चार्जिङ स्टेसन’ नहुँदा अनेकौँ समस्या बेहोर्नुपरेको धारणा सर्वसाधारण यात्रुसहित यातायात व्यवसायीले व्यक्त गरेका हुन्।

यसै सन्दर्भमा हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे सडकखण्डमा सवारीसाधन चार्ज गर्न घण्टौँ लाइनमा बस्नुपरेको, जंगल क्षेत्रमा रहेका चार्जिङ स्टेसनमा गुणस्तरीय होटल तथा शौचालयसहित आधारभूत आवश्यकता नभएको तथा सरकारीको तुलनामा निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेसन करिब दुई गुणासम्म महँगो भएको भनी उनीहरूले सम्बद्ध पक्षको ध्यानाकर्षण गरेका छन्।

“जंगल क्षेत्रमा गाडी चार्ज गर्नका लागि बिजुलीको व्यवस्था भए पनि आधुनिक शौचालय, गुणस्तरीय परिकारसहितको होटल र भरपर्दो सुरक्षा व्यवस्था नभएकोलाई त्यसतर्फ सम्बन्धित पक्षले तत्काल ध्यान दिन आवश्यक छ,” यात्रु ममता राईले भनिन्।

विद्युतीय सवारीसाधनमा सञ्चालन खर्च कम भए पनि डिजेलवाला सवारीसाधनको जस्तै महँगो भाडा तिर्नुपर्दा ठगिएको महसुस हुने गरेको हेटौँडा निवासी ललितबहादुर थिङको धारणा छ। उनले साबिक उठाउँदै आएको भाडादर घटाएर यात्रुलाई राहत दिन सरकार एवं सम्बद्ध व्यवसायीसँग अनुरोध गरे।

वीरगन्जका सवारीचालक रोहित साहका अनुसार सरकारी चार्जिङ स्टेसनमा एक युनिट बिजुलीको मूल्य चार रुपैयाँ छ। निजी क्षेत्रकोमा आठ रुपैयाँसम्म पर्दछ। जसले गर्दा सरकारी स्टेसनमा भीड बढाएको उनको भनाइ छ। 

“लामा रुटमा चल्ने विद्युतीय सवारीसाधनले बेग्लै खालको समस्या झेल्नुपरेको छ, त्यसतर्फ राज्यपक्षको ध्यान जान आवश्यक छ,” उनले भने।

यसैगरी विराटनगरका चालक प्रेम आलेले असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढीपहिरो सडक बिगारिदिँदा यसअघि चल्तीको बिपी मार्गमा गाडी चलाउन गाह्रो भएको बताए। 

“अहिले देशको पूर्वी क्षेत्रतर्फ जाने गाडीहरू चार्जिङ स्टेसनरहित कान्तिराजमार्ग हुँदै गुडिरहेका छन्, सो सडक खण्डमा पनि सरकारी चार्जिङ स्टेसनको व्यवस्था गर्न सम्बद्ध पक्षको ध्यान जान जरुरी छ,” उनले भने।