साफ फुटबल : नेपाल र भुटानले अंक बाँडे

साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

काठमाडौँ– राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडेका हुन्।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो। 

खेलको अधिकांश समय बल नियन्त्रणमा राखे पनि नेपालले गोल गर्न भने सकेन। 

समूह ‘बी’अन्तर्गत शुक्रबार नै भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोल अन्तरले हराएको थियो।

यस नतिजासँगै समूह ‘बी’बाट श्रीलंका तीन अंकसाथ शीर्ष स्थानमा छ। नेपाल र भुटान एक/एक अंकसहित दोस्रो स्थानमा छन्।