लुक्लाको मौसम प्रतिकुल हुँदा समस्यामा मन्थलीमा रोकिएका पर्यटक

मौसममा सुधार नआएपछि केही पर्यटक अन्यत्रैका गन्तव्यतर्फ लागेका छन् भने केही सडक मार्गबाट सोलुखुम्बुतर्फ लागेको पर्यटन व्यवसायीले जनाएका छन्।

लुक्लामा मौसम प्रतिकूल भई उडान प्रभावित भएपछि स्थलमार्गबाट सल्लेरी हुँदै सगरमाथा क्षेत्रतर्फ जाँदै विदेशी पर्यटक। तस्वीर : सुवास दर्नाल/रासस

रामेछाप– लुक्लामा मौसम खराब भएपछि एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिएका छन्। लुक्ला हुँदै सगरमाथालगायतका क्षेत्रमा पदयात्रा तथा घुम्न जाने स्वदेशी र विदेशी पर्यटक मन्थली विमानस्थल हुँदै त्यसतर्फ जाने गरेका छन्।

काठमाडौँलगायतका विभिन्न स्थानबाट मन्थली आइपुगेका पर्यटकहरू लुक्लाको मौसम उडानयोग्य नभएपछि मन्थलीमै रोकिएका हुन्। मौसममा सुधार नआएपछि केही पर्यटक भने अन्यत्रैको गन्तव्यतर्फ लागेका छन् भने केही सडक मार्गबाट सोलुखुम्बुतर्फ लागेको पर्यटन व्यवसायीले जनाएका छन्। 

सोलुखुम्बुको खुम्बु क्षेत्रको मौसम प्रतिकूल हुँदा सोमबारदेखि मन्थली लुक्ला नियमित उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण रामेछाप कार्यालयका सूचना अधिकारी प्रज्जवल गुरागाईँले जानकारी दिए। “सोमबारदेखि यहाँ पर्यटक रोकिएका छन्, बुधबार केही उडान भए पनि त्यसयता फेरि उडान प्रभावित भएको छ”, उनले भने।

उनका अनुसार बिहीबार मात्रै विभिन्न कम्पनीका हेलिकप्टरले २८ वटा उडानमार्फत १३५ पर्यटकलाई सोलुको फाप्लु तथा सुर्के पुर्‍याएका थिए। नियमित उडान नहुँदा मन्थलीमा एक हजार तीन सयभन्दा बढी पर्यटकहरू रोकिएका छन्। 

हवाई उडान प्रभावित हुँदा दैनिकजसो मन्थलीमा पर्यटक बढिरहेकाले होटलमा समेत रुम पाउन मुस्किल भइसकेको जनाइएको छ। हाल मन्थलीका होटलसँगै यहाँका होमस्टे पनि पर्यटकले भरिभराउ भएको होटल तथा पर्यटक व्यवसायी संघले जनाएको छ। 

शरद ऋतु पर्यटकका लागि उपयुक्त समय भएका कारण यस बेला रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिविरसम्म भ्रमण गर्ने पर्यटक बढेका छन्। 

नागरिक उड्डयन प्राधिकरण रामेछापका कार्यालय प्रमुख हिरोण शाहले अनुकूल मौसम भएका समयमा मन्थली विमानस्थलबाट दैनिक ५५ वटासम्म उडान हुने गरेको बताए। उनका अनुसार बुधबार विमान कम्पनीका विमानले १८ वटा उडानमार्फत तीन सयभन्दा बढी पर्यटकलाई मन्थलीबाट लुक्ला पुर्‍याउने र लुक्लामा रोकिएकालाई मन्थली ल्याएका थिए।