जीवनीकार गिरीलाई प्रश्न : पारिजातलाई किन 'सुश्री'का रूपमा प्रस्तुत गर्नुभयो?

पारिजातकै जीवनले रचेका कुरालाई किताबमा उतारेको हुँ मैले। उहाँको जीवनमा धेरै पक्ष तथा अन्तरकुन्तरका कुराहरू थिए, जुन कुरा आममान्छेलाई थाहा छैन। ती कुरा थाहा पाउन चाहिँ यो किताब पढ्नुपर्छ भन्ठान्छु।

वामपन्थी पक्षधर लेखकले पारिजातलाई प्रगतिवादी साहित्कारको 'मानक' नै बनाउने गरेका छन्। उनलाई वैचारिक रूपमा स्पष्ट साहित्कार मानिन्छ। उनको जन्म दार्जीलिङमा भए पनि साहित्यमा पाइलो सार्ने र चिनिने गरी नेपाल आएपछि नै काम गरिन्। २०११ सालमा काठमाडौँ आएकी उनले शिरिषको फूल उपन्यासका लागि २०२२ सालको मदन पुरस्कार पाएकी थिइन्। राजनीतिक, व्यक्तिगत र पारिवारिक रूपमा उनको जीवनमा धेरै उतारचढाव आएका थिए। उनको जीवनीको पुस्तक 'सुश्री पारिजात' यसै साता बजारमा आएको छ। यसै प्रसंगमा उक्त पुस्तकका लेखक गोविन्द गिरी प्रेरणासँग उकालोले गरेको संक्षिप्त कुराकानी :

तपाईंले पारिजातको जीवनी लेख्नुभयो। पारिजात कुन वाद र सिद्धान्तवाला हुनुहुन्थ्यो? 
शुरूमा उहाँ स्वच्छन्दतावादी हुनुहुन्थ्यो। उहाँको पहिलो किताबलाई शून्यवादमा आधारित भनेर शंकर लामिछानेले व्याख्या पनि गर्नुभयो। पारिजातको सो किताब (शिरीषको फूल) ले मदन पुरस्कार पनि पायो। विश्वका अन्य भाषामा अनुवादसमेत भयो। पछि उहाँ क्रान्तिकारी गीति साहित्य अभियान राल्फासँग समेत जोडिनुभयो। अनि फेरि प्रगतिवादतर्फ आकर्षित हुनुभयो। केही समय चौथो महाधिवेशन नामको कम्युनिष्ट समूहसँग जोडिनुभयो। रसिद नै काटेर त्यस पार्टीको सदस्य बन्नुभयो। पछि पार्टीसँगको सम्बद्धता त्याग्नुभयो। तर, उहाँले आजीवन प्रगतिवाद र कम्युनिजमलाई छोड्नुभएन। 

तपाईं चाहिँ स्वच्छन्दतावादी कि प्रगतिवादी? कि कुनै वादबाट मुक्त? 
म शुद्ध साहित्यकार हुँ। मेरो कुनै वाद सिद्धान्त र कुनै राजनीतिक आस्था तथा प्रतिबद्धता छैन। म स्वतन्त्र साहित्यकार हुँ। म विश्वव्यापी शाश्वत प्रजातन्त्र मान्ने व्यक्ति हुँ। हरेक लेखक प्रजातन्त्रवादी नै हुन्छ भन्ने लाग्छ मलाई। त्यसो हुँदा म स्वतन्त्र प्रजातन्त्रवादी लेखक हुँ। 

तपाईं धेरै विधामा संलग्न साहित्यकार हो। आफूलाई कुन विधाको ठान्नुहुन्छ? 
मैले धेरैअघि कुनै अमेरिकन लेखकको अन्तर्वार्ता पढेको थिएँ। यस्तै खालको प्रश्न ती लेखकलाई पनि धेरैले गर्थे। ती लेखकले त्यसको उत्तरमा भनेका थिए कि उनी 'म्यान अफ् लेटर्स' हुन चाहन्छन्। साहित्यमा विधाभन्दा पनि मेरा सिर्जना महत्त्वपूर्ण हुन्छ भन्ने ठान्छु। विधा भनेका तपसिल या हाँगा हुन्। साहित्य रुख हो भने विधा त्यसका हाँगा। हाँगाले चिनिने कि रुखले चिनिने भन्ने प्रश्नमा मेरो उत्तर हो, 'म रुखबाटै चिनिन चाहन्छु।' मेरा सिर्जना कस्ता हुन् र त्यसले जीवनको अर्थबोध र साहित्यिक महत्त्व बोकेको छ कि छैन भन्ने कुरा मूल हो। 

विदेशमा बसेर पनि नेपाली र डायस्पोरा साहित्य पनि लेख्नुभएको छ। तपाईं पुरानो परिभाषाको नेपाली कि डायस्पोरा ग्लोबल नेपाली? 
नेपाल मेरो जन्मभूमि हो। तर १८ वर्ष यता म अमेरिकामा छु। पछिल्लो समय दुई वर्षयता अमेरिकाभन्दा बढी नेपाल र भारतमा समय बिताइराखेको छु। त्यसो हुँदा मूल रूपमा म नेपाली हुँ। तर सँगसँगै डायस्पोरा नेपाली समुदायसँग पनि उत्तिकै निकट छु, जोडिएको छु। धेरै रचनाहरूमा त्यहाँका सन्दर्भहरू उल्लेख गरेको छु। मेरा पछिल्ला कृतिहरूमा कि अमेरिकाको पृष्ठभूमि छ, कि त नेपाली र अमेरिकन जीवनको मिश्रण छन्। त्यसो हुँदा मलाई डायस्पोरा ग्लोबल नेपाली नै भन्दा न्यायोचित होला। 

पारिजातसँग कहिले भेट भयो? कति समय सरस‌ंगत रह्यो? 
म पहिलेदेखि नै उहाँलाई भेट्न चाहन्थेँ। तर भेट्ने मौका मिलिराखेको थिएन। २०४१/४२ सालतिर जति बेला म नेपालमै सक्रिय थिएँ , त्यतिखेर निजी रूपमा अडिट (लेखा परीक्षण) गर्ने गर्थें। जिल्ला शिक्षा कार्यालय अन्तर्गत विभिन्न विद्यालयमा गर्नुपर्ने लेखा परीक्षणको काम पाइने हुनाले त्यो गर्थें। जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएर सो काम पाइन्थ्यो। त्यही समयतिर काठमाडौँको म्हेपीस्थित अमृत बोर्डिङ स्कुलको लेखा परीक्षण मेरो भागमा पर्‍यो। सो स्कुल पारिजातको बहिनी सुकन्याले चलाउनुहुन्थ्यो। तर सुकन्यालाई पनि निर्देशन गर्ने त पारिजात हुनुहुँदोरहेछ। 

त्यसै सन्दर्भमा उहाँसँग भेट भयो। त्यसो हुँदा स्कुलको लेखा परीक्षणको विषयले हाम्रो भेट भएको हो। उहाँलाई भेट्न जाँदा  चुरोट लिएर जानुपर्छ भन्ने सुनेकाले मैले दुई बट्टा खुकुरी चुरोट लिएर गएको थिएँ। पछि मैले उहाँसँग एउटा अन्तर्वार्ता लिएँ। अन्तर्वार्ता मिर्मिरे पत्रिकामा छापियो। पवन चाम्लिङले छपाएको पारिजात रत्नावलीमा चाहिँ सो अन्तर्वार्ता छुटेको छ। उहाँसँग पाँच-सात पल्ट मात्रै हो गएको। त्यसो हुँदा उहाँसँगको संगत उति लामो चाहिँ हुन पाएन। 

यो जीवनीको नाम 'सुश्री पारिजात' किन लेख्नुभयो? सुश्री हुनु र नहुनुले पारिजातको जीवन या यस किताबमा के अर्थ राख्छ? 
पारिजातलाई सबै नेपाली साहित्यमा चाख राख्नेले चिनेकै नाम हो। उहाँका प्रारम्भका रचना अध्ययन गर्दा धेरै ठाउँमा आफ्नो नाम 'सुश्री पारिजात वाइबा' नै लेख्नुभएको पाएँ। पारिजात त सबैले भनेकै छन् भने 'सुश्री पारिजात' भनिदिउन् भन्ने लागेर सरल बुझाइमै उहाँको जीवनी पुस्तकको नाम सुश्री पारिजात लेखेको हुँ। हुन चाहिँ कतिपय साथीहरूले 'तपाईंले किन उहाँलाई सुश्री बनाइदिएको?' भनेर पनि सोध्नुभयो। तर उहाँ अविवाहित हुनुहुन्थ्यो जीवनभर। त्यसो हुँदा सुश्री पारिजात लेखेर मैले गलत गरेझैँ लाग्दैन।   

२० वर्ष लगाएर यो किताब लेखिएको भन्नुभयो। त्यति मेहनत गरिएको यो किताबभित्र के छ? पारिजातको जीवन र उहाँ साहित्यबाट आम पाठकले के सिक्ने? 
हरेक विषयमा लेख्न सक्ने तथा जीवन र जगतलाई प्रगतिवादी ढंगले हेर्ने लेखक हो उहाँ। उहाँले आममान्छेका कथा लेख्नुभयो। मान्छेका जीवनलाई प्रगतिवादी कोणबाट हेर्नुभयो। त्यसो हुँदा पारिजातको जीवन र उहाँले भोग्नुभएको समाजका खास वर्गका कथा बुझ्न पनि उहाँका कृति पढ्नुपर्छ। 

अर्को कुरा, मैले उत्पन्न गरेका कुरा छैनन् किताबमा। पारिजातकै जीवनले रचेका कुरालाई किताबमा उतारेको हुँ मैले। उहाँको जीवनमा धेरै पक्ष तथा अन्तरकुन्तरका कुराहरू थिए, जुन कुरा आममान्छेलाई थाहा छैन। ती कुरा थाहा पाउन चाहिँ यो किताब पढ्नुपर्छ भन्ठान्छु।

पारिजात क्रान्तिकारी र समतावादी हुनुहुन्थ्यो। लेखनमा पनि कर्मकाण्ड र रूढीवादको विरोध गर्नुहुन्थ्यो। साहित्य र लेखनमा त्यो धार कत्तिको बलियो छ आज?
नेपाली साहित्य आजका दिनमा छिरलिएको छ। २०४६ र २०६३ सालपछि सतही कुरा बढी आएका छन्। नेपथ्यका कथा बढी लेख्नुपर्छ। सबै खालका उत्पीडनको कथा लेखिनुपर्छ भन्ने त छ, तर गहिरो विश्लेषण र चिरफारसहितका साहित्य आउन सकेनन्। त्यसो हुँदा क्रान्तिकारी र समतावादी धार पहिलेभन्दा झनै भुत्तो भएको छ। राजनीति नै भुत्ते भएकै कारण नै त्यसो भएको हो कि?