३ वर्षदेखि घरघरमा धारा, आएन पानी

माझी समुदायमा खानेपानी अभाव टार्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ३० लाख रुपैयाँ खर्चेर लिफ्ट आयोजना सम्पन्न गरे पनि धारामा पानी आएको छैन।

गलकोट– बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो। घरघरमा धारा बनेको तीन वर्षसम्म पनि पानी आएको छैन। 

बर्खामा जेनतेन पानीको गुजारा चले पनि स्थानीयले हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन्। सीमान्तकृत माझी समुदायमा खानेपानीको अभाव टार्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ३० लाख रुपैयाँ खर्चेर लिफ्ट खानेपानी आयोजना सम्पन्न गरेको थियो। एकपटक धारामा बालुवासहितको पानी आएको र त्यसपछि पानी आउन बन्द भएको स्थानीय गमिला माझीले बताइन्। 

२०४८ सालमा बागलुङ–पोखरा सडकखण्ड विस्तारका क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बांगेचौर खेल मैदानमा राखियो। बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१ रामरेखास्थित कालीगण्डकी किनारामा ६ वर्षअघि मात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो।

त्यसपछि खानेपानीको समस्या समाधानका लागि आयोजना सम्पन्न भए पनि पानी आउन नसकेको हो। १७ घरपरिवार रहेको माझी बस्तीमा अहिले नांलीबाङबाट ल्याइएको पानीको एउटा अस्थायी धारा मात्रै रहेको छ। उक्त धारामा पानी नआए कालीगण्डकीको पानीको भर पर्नुपर्ने बाध्यता छ। पानी नआउँदा धारा प्रयोगविहीन बनेको स्थानीय लक्ष्मी माझीले बताइन्। 

“घरअघि चिटिक्क धारा बनेको तीन वर्ष भइसक्यो तर पानी खस्दैन, यो लिफ्ट आयोजना भरपर्दो नहुने रहेछ,” लक्ष्मीले भनिन्, “अहिले वैकल्पिक रूपमा नांलीवाङको पानी खान्छौँ, एउटा पाइपमा आएको पानी १७ घरमा पुर्‍याउन मुस्किल छ, हिउँदमा त खानेपानीको साह्रै समस्या हुन्छ।”

उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो। एक घर एक धारा पुर्‍याउने माझी बस्ती खानेपानी आयोजनाको लक्ष्य थियो। कालीगण्डकी किनाराको खानेपानी लिफ्टमार्फत करिब ५०० मिटरमाथि तानेपछि एकीकृत बस्तीमा खानेपानी वितरण गर्ने योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो। 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले आयोजना सम्पन्न भएर सफल भएपछि स्थानीयलाई हस्तान्तरण गरिएको बताए। स्थानीयले पानी नआएको विषयमा कार्यालयमा जानकारी नगराएको बताउँदै प्राविधिक पठाएर खानेपानी सञ्चालन गर्ने जानकारी दिए।