रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट ६ दिनका लागि म्याद थप गरिएको छ।

काठमाडौँ– पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न ६ दिनका लागि म्याद थप गरिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले अनुसन्धानका लागि ६ दिन म्याद थप गर्ने निर्णय गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। शुक्रबार काठमाडौँमा पक्राउ परेका सभापति लामिछानेलाई सोही दिन राति नै पोखरा लिई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएकामा आज अदालतसमक्ष प्रस्तुत गरिएको थियो। इजलासमा सरकारी वकिलका तर्फबाट कमला काफ्लेले बहस गरेकी थिइन् भने सभापति लामिछानेका तर्फबाट अधिवक्ताहरू सुशिल पन्त, डा नारायण घिमिरेलगायतले बहस गरेका थिए।

सभापति लामिछानेलाई अदालतमा उपस्थित गराइरहँदा बाहिर भने उनका समर्थकले नाराबाजी गरेका थिए। सम्भाव्य सुरक्षा अवस्थालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको सहिदचोक र आसपासको क्षेत्रलाई तोकेर निषेधाज्ञासमेत जारी गरेको थियो। समर्थकबाट निषेधाज्ञा तोड्ने प्रयास भइरहँदा प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रयोग गरी भीडलाई त्यहाँबाट हटाएको थियो। 

सहकारी पीडितका साथै सभापति लामिछानेका समर्थक दुबै पक्षका छुट्टैछुट्टै प्रदर्शनका कार्यक्रम तय भएसँगै प्रशासनले बिहानैदेखि पोखराको सुरक्षा व्यवस्था कडा गरेको थियो। जिल्ला अदालत परिसर आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।