म्यानमारमा डुंगा डुब्दा ११ जनाको मृत्यु, १९ बेपत्ता

डुंगामा अधिकांश विद्यार्थी सवार थिए। उनीहरू दुई हप्ताको बिदापछि गाउँबाट म्येइक शहर फर्किरहेका थिए।

म्यान्मारको अन्डमान सागरमा आइतबार ३० जना मानिस बोकेको डुंगा डुब्दा ११ जनाको मृत्यु भएको छ। उद्धारकर्ताले ११ जनाको शव पानीबाट बाहिर निकालेका छन्। बाँकी बेपत्ता रहेको स्थानीय सञ्चार माध्यमले बताएका छन्।  

“हामीले आइतबार राति १० वटा र सोमबार बिहान एउटा शवलाई पानीबाट बाहिर निकालेका छौँ,” तानिन्थारी क्षेत्रको क्याउक कर गाउँका एकजना भिक्षुले भने। 

भिक्षुका अनुसार डुंगामा अधिकांश विद्यार्थी थिए। उनीहरू दुई हप्ताको बिदापछि गाउँबाट म्येइक शहर फर्किरहेका थिए।

डुंगा अत्यधिक भारमा कारण डुबेको जनाइएको छ। म्यानमारमा समुद्र तट र नदीमा डुंगालाई आवतजावतका लागि यातायातको साधनका रूपमा प्रयोग गर्ने गरिन्छ। समुद्रमा हुने यस्ता दुर्घटनामा पर्नेको विरलै रूपमा सकुशल उद्धार हुने गरेको छ।