बनमारा फाँडेर ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

लामो समयदेखि बनमारा मात्रै उम्रिएको जग्गामा दुई वर्षअघि शाहीले ड्रागन फ्रुट लगाउने निर्णय गरेका थिए।

रामेछाप– फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ। मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी शुरू गरेको ड्रागन फ्रुट र सयपत्री फूलको खेती हेर्न त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन्।

पाँच रोपनीमध्ये तीन रोपनीमा उनले ड्रागन फ्रुट मात्रै लगाएका छन् भने बाँकी दुई रोपनीमा ड्रागन फ्रुटसँगै सयपत्रीको पनि खेती गरेका छन्। तिहार शुरू हुने समयमा झपक्कै फूलेका सयपत्रीले त्यहाँको दृश्य मनमोहक बनाइदिएको छ।

लामो समयदेखि बनमारा मात्रै उम्रिएको जग्गामा दुई वर्षअघि शाहीले ड्रागन फ्रुट लगाउने निर्णय गरेका थिए। शुरूमा ३०० बोट ड्रागन फ्रुट रोपेका उनले त्यससँगै सयपत्री फूल पनि रोपेका थिए। एउटै जग्गाबाट अहिले उनले दोहोरो लाभ लिएका छन्। उनले सयपत्रीबाहेक विभिन्न प्रजातिका बिरुवाहरू उत्पादन गर्न नर्सरीको समेत व्यवस्था गरेको बताए।

उनले भने, “लामो समयदेखि काठमाडौँमा फूलको नर्सरी सञ्चालन गरेको थिए, त्यही अनुभवका आधारमा यहाँ पनि फूल र विभिन्न विरुवाको नर्सरी शुरू गरेको हुँ।” आफ्नै गाउँमा केही गरौँ र स्थानीय किसानलाई सहयोग गर्नुपर्छ भन्ने सोचले आफूले यहाँ खेती शुरू गरेको उनको भनाइ छ।

शाहीलाई नगरपालिकाबाट पनि सहयोग प्राप्त भइसकेको छ। फूल खेतीका लागि नगरपालिकाले एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको नगर कार्यपालिकाका सदस्य एवं वडा नं ५ का अध्यक्ष रबिन कार्कीले जानकारी दिए।

साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा मन्थलीमा सञ्चालित जुनार जोन कार्यक्रममार्फत कागतीका बिरुवा उत्पादनका लागि पाँच लाख रुपैयाँ अनुदान लिएका परियोजनाका कार्यालय प्रमुख थिरलाल गैरेले बताए।

आफ्नो कम्पनी भदौरे कालिका कृषि तथा पशु पंक्षी फार्मले परियोजनामार्फत अनुदान प्राप्त गरेको र यसले काम गर्न हौसला मिलेको शाहीको भनाइ छ। उनी भन्छन्, “मेहनत गर्ने हो भने स्वदेशमै केही गर्न सकिन्छ, सरकारले पनि सहयोग गर्छ, यसबाट कृषि क्षेत्रमै धेरै काम गर्न सकिन्छ भन्ने विश्वास जागेको छ।”

उनले उत्पादन गरेको सयपत्री फूल सदरमुकाम मन्थलीदेखि दोलाखा, सिन्धुलीदेखि काठमाडौँसम्म जाने गरेको छ। ड्रागन फ्रुट प्रतिकिलो ३५० र सयपत्री फूल प्रतिकिलो २५० रुपैयाँमा बिक्री शुरू गरेका छन्। यस वर्षको तिहारमा उनले सयपत्री बिक्रीबाट तीनदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने योजना बनाएका छन्।