नेप्से परिसूचकमा उच्च अंकको गिरावट

आज नेप्से परिसूचक ५७.९९ अंकले ओरालो लागेर २,६३९.९२ अंकमा पुगेको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ५८ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ५७.९९ अंकले ओरालो लागेर २,६३९.९२ अंकमा पुगेको छ। आइतबार पनि नेप्से ४७ अंकले घटेको थियो।

आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.१४ अंकले ओरालो लागेर ४७६.२४ मा सीमित भएको छ। कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ।

नेप्सेका अनुसार, कूल एक करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर पाँच अर्ब ९० करोड सात लाख ९१ हजार ४४ रुपैयाँमा कारोबार भएका छन्।

विन नेपाल लघुवित्त ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८२, कालिका लघुवित्त ५.५२, पिपल्स पावर ४.८४ र मानुषी लघुवित्तका लगानीकर्ताले ३.९९ प्रतिशतले कमाएका छन्।

यस्तै, न्यादी ग्रुप अफ पावर ९.२०, गुडविल फाइनान्स ५.६५, छ्याङ्दी हाइड्रोपावर ४.७९, इस्टर्न हाइड्रोपावर ४.७५ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ४.६७ प्रतिशतले गुमाएका छन्।