देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। मधेश, बागमती र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै तथा कोशी प्रदेश, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।