‘सधैँ सडकमा बित्छ घरबारविहीनको रात’

अलपत्र सडक मानवको उद्धार गर्ने संयन्त्र बलियो नहुँदा व्यवस्थापनमा समस्या आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीको भनाइ छ।

काठमाडौँ– मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा। उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ। दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर प्रायः खुला आकाशमुनि रात बिताउँछन्। 

शुक्रबार दरबारमार्गमा साँझ परेपछि घाम कहिले ओझेल पर्छ र निदाउन अँध्यारो खोज्न सुरसार गर्दै थिए तामाङ। बोल्दाबोल्दै बिर्सने मनस्थितिमा पुगेका उनी आफू सडकमा आउनुको कारण एक वाक्यमा टुंग्याउँछन्। “चाहेको होइन तर परिस्थितिले सडकमा ल्यायो,” उनले भने, “घर र ठेगाना सडकबाट शुरू भएर सडकमै टुंगिन्छ।” 

घाम अस्ताउने पश्चिमतिर भन्ने मात्रै थाहा छ उनलाई। परिवार र आफन्तको लेखाजोखा कहिल्यै गरेनन्। दिनमा भारी बोक्न पाए दुई/चार रुपैयाँ कमाउने र बेलुका खाना खाएर सडकमा बास बस्ने उनको दैनिकी हो। “न्यानो ओछ्यान बिर्सिएको वर्षौं भयो। आफ्नो विगतको तीतोपल सम्झिन चाहन्न,” तामाङले भने। उनलाई जाडो याममा अत्यन्त कठिन हुने हुँदा कसरी चिसो कटाउने भन्ने चिन्ताले लागिरहन्छ।

सडकमा रात बिताउन पनि घरबारविहीन सडक मानवलाई सजिलो छैन। गोरखामा जन्मिएको बताउने सानोकान्छा घर्तीको धेरैजसो रात ठमेलका सडक पेटीमा बित्ने गर्छ। “गरिब देखेर सबैले हेप्छन्, चोर्छ भन्दै पेटीमा पनि बस्न दिँदैनन्,” उनले भने। कहिले आफ्नै साथीबाट लखेटिन्छन् भने कहिले सर्वसाधारण र व्यापारीबाट। सडक पेटी कब्जा गरेर बस्ने उनकै समूहबीच हानथाप हुन्छ। अलि सुकिलो र पानी ओत लाग्ने भुइँ रोज्ने टाठाबाठा हुन्छन्। 

६० वर्षीय घर्ती भने कहिलेकाहीँ त्यही चिसो भुइँ पनि रोजेर पाउँदैनन्। भुइँमा बास बस्न पनि ठूलो संघर्ष गर्नुपर्छ। “आफूमाथिको दुर्व्यवहार कसलाई सुनाउने? कुनै निकाय छैन। त्यसैले चुपचाप भई सहन बाध्य हुन्छु,” उनी भन्छन्। सडक पेटीमा रात बिताउने पुरुषको संघर्ष जति छ त्योभन्दा बढी महिलाका व्यथा छन्। 

सडकमा कुनै पनि मानव अलपत्र र बेवारिसे नभेटिउन् भन्ने सेवा भावका साथ मानव सेवा आश्रमले गत असोज २६ गतेदेखि मेची महाकाली राष्ट्रिय उद्धार यात्रा शुरू गरेको छ। मेची महाकालीको उद्धार यात्रामा कोशी प्रदेशबाट तीन दिनमा ४४ जनाको उद्धार गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। 

उनका अनुसार मधेश प्रदेशको लहानमा १३ र जनकपुरमा ११ जनाको उद्धार गरिएको छ। कात्तिक २८ गतेसम्म देशभरका सडक मानवको उद्धार गर्ने योजना छ। जतिसुकै उद्धार कार्य सक्रिय गरी पनि सडकमा जाँडरक्सी खाएर स्वतन्त्र जीवन जिउन चाहने र माग्ने पेसा अपनाउने मानव आश्रमको उद्धार क्षेत्रअन्तर्गत नपर्ने उनको धारणा छ। 

“सडकमा वास्तविक सडक मानव भए उद्धार गरेका छौँ,” अध्यक्ष अधिकारी भन्छन्, “जाँडरक्सी खाने र माग्ने व्यक्तिलाई सम्हाल्नु हाम्रो चुनौती बनेको छ।” सडकमा वास्तविक बेवारिसे मानव हुन कि होइनन् भनी पहिचान गर्न एउटा ‘सडक मानव स्क्रिनिङ सेन्टर’ जरुरी रहेको उनले बताए। 

सबै सडकका मानवलाई त्यहाँ राखेर वास्तविक पीडित पहिचान गर्न सजिलो हुने अध्यक्ष अधिकारीको बुझाइ छ। आश्रमले हालसम्म १२ वर्षको अवधिमा ११ हजार सडक मानवको प्रत्यक्ष उद्धार गरेको छ। तीमध्ये १५० बालबालिका छन्। ज्येष्ठ नागरिक ३०० छन् भने एक हजार सडक मानव मानसिक सन्तुलन गुमाएका छन्। आश्रमले सात प्रदेशको १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारी अलपत्र सडक मानवको उद्धार गर्ने संयन्त्र बलियो नहुँदा व्यवस्थापनमा समस्या आएको बताउँछन्। सडकमा जथाभाबी डुल्ने, भौँतारिने गर्दा कुलतमा पसेको, दुर्घटनामा पर्न सक्ने, शान्ति सुव्यवस्थामा खलल पुग्नेजस्ता गतिविधि हुने गरेको उनले बताए। 

“प्रहरीले सडक मानव देख्नेबित्तिकै तत्काल खबर गर्ने संयन्त्रको अभाव छ,” प्रहरी उपरीक्षक अधिकारीले भने, “स्थानीय सरकार बढी जवाफदेही हुनुपर्ने अवस्थामा यसप्रति खासै चासो  दिएको देखिँदैन।” सडक मानव अपराधी नभएकाले अलपत्र परेका बेला भेटिएमा प्रहरीले थुनामा राख्न नमिल्ने उनको भनाइ छ। 

“तत्काल उद्धार गर्ने स्रोतसाधन प्रहरीसमक्ष छैन। केही संस्था सहयोगी भए पनि पर्याप्त उद्धार संयन्त्र छैन,” उनले भने। स्थानीय सरकारले सहयोगी संघस्थासँग समन्वय गरी सडक मानव उद्धारको पहल गर्नुपर्नेमा उनले जोड दिए।