इथियोपियाका भित्री गाउँबस्तीमा झोलुंगे पुलको काम गरिरहेका पासाङको बुझाइमा इथियोपियाका जनता गरिब हुन्, देश धनी। नेपालमा भने जनता धनी छन्, देश गरिब।
काठमाडौँ– सोलुमा ५८ वर्षअघि जन्मे–हुर्केर उतैको विकट डाँडापाखामा खाइखेली गरेका पासाङ शेर्पा अफ्रिकी मुलुकका उस्तै विकट पहाडमा रम्न–रमाउन थालेको वर्षौं भइसकेको छ।
सधैँको हतारोमाझ यसपालि पनि पासाङ दशैँतिहार मुखेन्जी इथियोपियाको अमाहारा प्रान्तबाट काठमाडौँ उत्रिए। तर कहिले चाडबाड सकिएला अनि अमाहारा फर्कौं भन्ने निकै बेफुर्सदी मुडमा उनी भेटिए। उता अमाहाराका भित्री बस्तीमा बन्दै गरेका एक दर्जनजति झोलुंगे पुलको ‘स्कोपिङ’ बाँकी नै छ। अफ्रिकाकै मोजाम्बिक र मदागास्करदेखि दक्षिणपूर्वी एशियाली मुलुक भियतनामसम्मको झोलुंगे पुल निर्माण प्रस्तावमा गर्नुपर्ने ‘होमवर्क’ थाती छ। “तर घुमघाम वा रसरंगको हतार होइन है,” कुराकानीको शुरूमै पासाङले स्पष्टीकरण दिइहाले, “कतै लट्ठाको काम हुँदै छ, कतै इस्टिमेसन हुँदै छ।”
पासाङ मात्रै होइन, प्राविधिक पदमबहादुर गुरुङ र प्रेम खड्काको हतार पनि त्यस्तै छ। इथियोपियाका विभिन्न प्रान्त र इलाकामा बन्दै गरेका १५० वटा जति झोलुंगे पुलका लागि नेपालबाट खटिएका यी प्राविधिकको परिचय त्यो भेगका लागि नौलो होइन। सन् २००८ यता नेपालबाट इथियोपिया, तान्जानिया, बुरुन्डी, इन्डोनेसिया, लाओस, होन्डोरस र ग्वाटेमालासम्म झोलुंगे पुलको प्रविधि पुगिसकेको छ। भुटानमा समेत नेपाली सीप–प्रविधि उपयोग गर्दै झोलुंगे पुल निर्माण भएको छ।
‘हाम्रो हो झोलुंगे पुल’
सन् ५० को दशकमा भ्रमणमा आएका स्विस भूगोलविद् टोनी हेगनले त्यो बेलाको नेपालको जनजीवन, प्रकृति र भूगोलमाथि अनेक तस्वीर बटुलेका छन्। अन्वेषणले भरिएका सोध सामग्री बटुलेका छन्, नेपाललाई बाहिरी विश्वमा चिनाउने गरी लेखेका छन्, बोलेका छन्।

योभन्दा महत्त्वपूर्ण पक्ष भनेको नेपालको भौगोलिक विकटता र तत्काल असम्भव सडक (यातायात) सञ्जाललाई उल्लेख गर्दै ‘नेपालको विकट भूगोल जोड्न सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको झोलुंगे पुल हो’ भनेर उनै हेगनले स्विस र नेपाल सरकारलाई समेत सुझाव दिए। त्यही सुझावअनुसार, सन् ६० को दशकमा नेपालमा झोलुंगे पुल शाखा स्थापना भयो र, यही लक्ष्यमा स्विस सहयोग अन्तर्गत स्विस एसोसिएसन फर टेक्निकल एसिस्टेन्स (साटा) सञ्चालनमा आयो। झोलुंगे पुललाई चाहिने फलाम तथा स्टिलका सामग्री उत्पादनमा स्विस सहयोग लिएरै त्यही बेला (१९६४) बालाजु यन्त्रशाला स्थापना भएको थियो। सन् १९७२ मा साटाअन्तर्गत झोलुंगे पुल परियोजना स्थापित भयो जसले वार्षिक २५ वटा झोलुंगे पुल बनाउन थालेको थियो।
“यसरी हामीलाई हाम्रो भूगोल मात्रै होइन, यो भूगोलमा आवश्यक र सजिलो यातायात प्रविधिसमेत चिनाइदिएर स्विस भूगोलविद् टोनी हेगनले हामीलाई ठूलो गुन लगाइदिएका छन्,” स्विस सहयोग नियोगअन्तर्गत सञ्चालित हेल्भेटास नेपालको ट्रेल ब्रिज सपोर्ट युनिट (टीबीएसयू)का प्राविधिक निर्देशक ज्ञानेन्द्र राजभण्डारी भन्छन्, “हेल्भेटास नेपालको सहयोगमा नेपालमा १० हजारभन्दा बढी झोलुंग पुल निर्माण भइसकेको छ। अहिले हेल्भेटासमा झोलुंगे पुल परियोजना नरहे पनि विभिन्न अफ्रिकी मुलुकमा नेपाली प्राविधिकले यो नेपाली मोडेललाई बिस्तार गरिरहेका छन्।”

१०० वर्षअघि राणा शासकले आफूलाई आवश्यक पर्ने केही रणनीतिक स्थानमा झोलुंगे पुल (जस्तै: टेकु, चोभार) बनाए पनि त्यो आम समुदायका लागि सहयोगी नहुने संरचना थियो। स्कटल्यान्डको सहयोग र स्कटिस मोडलमा राणाकालमै २९ वटा झोलुंगे पुल निर्माण गरिएको भए पनि धेरैपछि स्विस सहयोगमा यो प्रविधिलाई ‘नेपालीकरण’ गरिएको थियो।
“सस्पेन्सन र सस्पेन्डेड दुबै खालका झोलुंगे पुलमा पुरापुर नेपाली प्रविधि मिसिएको छ,” प्राविधिक राजभण्डारीले भने, “खोला वा भीर–पहरा वारिपारि सडक सञ्जाल होला तर, वारपार गर्न पुल चाहिन्छ नै। सबैतिर उही रूपमा सडक–पुल बनाउन सकिन्न। जस्तो, हाम्रो त्रिशुली खोलामा वारपार गर्न निकै ठाउँमा झोलुंगे पुल छ, वारपारको सडक सञ्जाल जोड्नैका लागि पनि झोलुंगे पुल चाहियो।”
ज्ञानेन्द्रका अनुसार, हेल्भेटासको इथियोपिया शाखाले ‘डिमान्ड’ पठाएपछि सन् २००८ पछि त्यहाँ गएर झोलुंगे पुलमा नेपाली प्रविधिको बिस्तार शुरू भएको हो। “इथियोपियाको भूगोल हाम्रोभन्दा केही सजिलो छ, यति विकट पहाड छैन। खोलानाला पनि शान्त प्रकृतिका छन्, तर पुल चाहिने भूभाग भने निकै छ,” पुल निर्माण क्रममा थुप्रैपटक इथियोपियासहित अफ्रिकी मुलुक गएका राजभण्डारी भन्छन्, “त्यसबेला हेल्भेटासमा नेपाल निर्देशक भइसकेका इथियोपियाका एकजना विकासविद्ले नेपालबाट झोलुंगे पुल प्रविधि र प्राविधिकलाई उनको देशमा लगेका थिए, त्यो प्रभाव क्रमशः तान्जानिया, बुरुन्डी हुँदै अन्यत्र फैलिएको हो।”

उनका अनुसार, बुरुन्डीमा भने प्रविधि र प्राविधिक मात्रै होइन, झोलुंगे पुल निर्माणमा स्टिल पार्टस र अन्य सामानसमेत नेपालबाट लगिएको थियो। कुनैबेला प्रचलित रहेको ‘साउथ साउथ कोअपरेसन युनिट’ हुँदै ‘ट्र्याक फर चेन्ज’ (हाल)को माध्यमबाट पनि बाहिरी विश्वका लागि झोलुंगे पुल निर्माणमा नेपाली प्राविधिक सहयोग जारी छ। शहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पुल शाखाले अहिले झोलुंगे पुल निर्माण प्रक्रियाको जिम्मा लिएको र दुई वर्षअघि मात्रै ७५६ वटा यस्ता पुल नेपालमा निर्माण भएका थिए।
‘इथियोपियन गरिब, इथियोपिया धनी’
झोलुंगे पुलका प्राविधिक पासाङ शेर्पा जिरी प्राविधिक शिक्षालयबाट सवओभरसियर उत्तिर्ण हुन्। उनले एक्सन एड संस्थामार्फत सन् ९० को दशकमा सिन्धुपाल्चोकका गाउँमा काम गरेका थिए। हेल्भेटासमा जोडिएपछि सन् १९८८ देखि सात वर्ष जति भुटानमा पनि विकास–निर्माणका प्राविधिक काममा जोडिए। भुटानबाट फर्किएर हेल्भेटासबाटै सुदूरपश्चिमका सबैजसो जिल्लामा काम गरे। सन् १९९६ पछि भने उनी झोलुंगे पुलमा जोडिए, प्राविधिक रूपमा।
“सन् २००८ मा हेल्भेटास इथियोपिया र नेपालबीच समझदारी बन्यो। इथियोपियालाई झोलुंगे पुलका क्षेत्रमा प्राविधिक सहयोग र नेपालको प्रविधि ‘ट्रान्सफर’ गर्ने निधो भयो। त्यसबेला मसहित पुष्प कुँवर, पदमबहादुर गुरुङ र प्रेम खड्का इथियोपिया पुगेका थियौँ,” पासाङले सम्झिए।
त्यहाँ उनीहरूले टिग्रे रिजन र साउथ नेसनमा काम गरेका थिए। पहिलो आठ महिनामा विभिन्न प्रविधिका नौ वटा पुल बनाएका थिए। “अरू २१ वटामा भने हाम्रो सर्भे, डिजाइन र इस्टिमेटको सहयोग भयो। हाम्रो प्राविधिक सहयोग र सिकाइका भरमा इथियोपियन प्राविधिकले त्यही अवधिमा थप ७० वटा पुल बनाएका थिए,” पासाङले सुनाए।

सन् २०१३ सम्म इथियोपियामा काम जारी रह्यो, त्यसपछि भने बुरुन्डी। “२०१४ मा बुरुन्डीमा काम गर्यौँ, स्विस संस्थामार्फत। बुरुन्डीमा पनि १४ वटा पुल बनायौँ। लङ–स्प्यान खालको अलिक उच्च प्रविधिका पुल बुरुन्डीमा बने। इथियोपियामा भने सर्ट–स्प्यान पुल बनेका थिए,” उनले भने। पछिल्लो पटक भने, हेल्भेटास इथियोपियाले सहयोग माग गरेपछि तीनजना प्राविधिक पासाङ, पदम र प्रेम इथियोपियाका विकट पहाड वा खोँचमा व्यस्त बनेका छन्।
“म भने अमाहारा रिजनमा छु अहिले। यो रिजन नेपालजत्रो छ, जनसंख्या पनि नेपालको जति नै छ। यो रिजनमा मात्रै १५ हजार जति झोलुंगे पुल चाहिन्छ,” पासाङ भन्छन्, “जति सम्पन्न भए पनि, वारपार मर्सिडिजमै हिँडे पनि दुई भूगोल जोड्न झोलुंगे पुल त चाहियो। सबैतिर महँगो प्रविधिमा सडक–पुल त बन्न/बनाउन सकिन्न नि।” झोलुंगे पुल कतै आवश्यकता र कतै ‘ब्युटिफिकेसन’मा पनि उपयोग हुने गरेको भए पनि नेपाली प्रविधि र शैली भने ‘मास प्रोडक्सन’का लागि भएको प्राविधिकको बुझाइ छ।
नेपाली प्राविधिकले अहिले सिंगल–स्प्यानमा औसत साढे ३०० मिटर र मल्टी–स्प्यान आवश्यकताअनुसार झोलुंगे पुल बनाउन थालेका छन्। “गरिबी मात्रै होइन झोलुंगे पुल, यो त भूगोलको कुरा पनि हो,” प्राविधिक ज्ञानेन्द्र राजभण्डारी भन्छन्, “अहिले जहीँतहीँ मोटरसाइकल ट्र्याक छ इन्डोनेसियामा। त्यहाँ पनि झोलुंगे पुल बनाएका छौँ, पुलमा मोटरसाइकल वा कतै थ्रि–ह्विलरसमेत वारपार हुनेगरी। लाओसमा त पावर–ट्रेलरसम्म झोलुंगे पुलबाटै वारपार हुन्छ।”

इथियोपियाका भित्री गाउँबस्तीमा काम गरिरहेका पासाङका बुझाइमा इथियोपियाको जनता गरिब हुन्, देश भने धनी। नेपालमा भने जनता धनी छन्, देश गरिब।
“इथियोपियामा उभिएर नेपाल सम्झिँदा भने म आफ्नो देशलाई स्वर्ग मान्छु। हामी नेपालीको बोलीचाली, व्यवहार, उदारमना तथा हाम्रो झारपात, छहरा, जंगल... धेरैतिर सजिलै नपाइने कुरा हो। उता अफ्रिकी मुलुकमा जाँदा भने जसको अनुहारमा पनि अभाव देख्छु म,” पासाङले रमाइलो तुलना पनि सुनाए, “हाम्रा नेताले नेपाल अझै झोलुंगे पुल युगमा बाँचिरहेको छ भन्ने गर्छन्। कस्तो अबुझपन होला यो? झोलुंगे पुलको सीप र प्रविधि सिकाएर आज हामी बाहिरी विश्वमा हिँडिरहेका छौँ। गरिबी र झोलुंगे पुल त दुई अलग कुरा हो नि। गरिबीको सूचक हुने भए आज स्विजरल्यान्ड, फ्रान्स वा इन्डोनेसियाले किन आफ्नो झोलुंगे पुलको सेवा–सुविधामा गर्व मानिरहेका हुन र?”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
