पर्वतमा पाक्न लागेको धानबालीमा असिनाले क्षति

कुस्मा र फलेवास  नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले धानबालीमा क्षति पुर्‍याएको छ।

पर्वत– जिल्लाका विभिन्न स्थानमा असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ। कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धान नष्ट गरेको छ। 

कतिपय ठाउँमा पाकेको धान झारिदिएको छ। कुस्मा र फलेवास  नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले क्षति पुर्‍याएको हो।

कुस्मा–१० पिपलटारीका किसान दीपक सुवेदीले पाकेर काट्ने बेलाको धान असिनाले नष्ट गरिदिएको गुनासो गरे। उनका अनुसार काट्ने तयारी भएको धानमा क्षति पुगेको हो। एक घण्टासम्म परेको असिनापानीले झण्डै ४० प्रतिशत धान झारेको उनको भनाइ छ। सुवेदीका अनुसार जुकेखोला, चिन्नेखोला, अधिकारीफाँट, मल्याङ्दी, सालघारी, अर्गसेलगायत फाँटमा ठूलो नोक्सानी पुगेको छ।

महाशिला–५ की किसान सरस्वती अधिकारीले काटेर सुकाएको धान एक्कासि परेको असिनापानीले झारेर नष्ट गरिदिएको बताइन्। मौसमविद्ले मनसुन सकिएको र मौसम सफा रहने बताएपछि धान काटेर सुकाएका किसान असिनाले क्षति पुर्‍याएपछि निराश बनेका छन्। 

पर्वतमा गत वर्ष पनि यही समयमा परेको असिनाले धानबालीमा नोक्सान पुर्‍याएको थियो। यस वर्ष समयमै मनसुन शुरू भएकाले समयमै रोपाइँ गरेका कारण धान उत्पादनसमेत बढ्न अनुमान गरिए पनि असिनापानीले क्षति गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख परशुराम अधिकारीले क्षतिको तथ्यांक संकलन भइरहेको बताए। जिल्लाका धेरै ठाउँमा पाक्न लागेको धान खेतमा ढलेको उनको भनाइ छ। ढलेको धानलाई उठाएर मुठा पारेर केही मात्रामा भए पनि क्षति कम गर्न सकिने भए पनि पूर्ण सुरक्षित भने नबनाउने उनको भनाइ छ।