५ मुरीभन्दा बढी बदाम फलाउनेलाई पुरस्कार!

पाँच मुरी बदाम फलाउने किसानलाई प्रतिमुरी ५०० रुपैयाँका दरले दुई हजार ५०० तथा त्योभन्दा बढी फलाउनेलाई थप ३०० रुपैयाँका दरले प्रोत्साहन रकम दिइने हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ।

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले परम्परागत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ। सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामा मात्रै हुने बदामखेती प्रवर्द्धनका लागि नगरपालिकाले प्रोत्साहन कार्यक्रम ल्याएपछि किसान उत्साहित भएका छन्। 

परम्परागत बाली प्रवर्द्धनका लागि नगरपालिकाले १५ दिने सूचनासमेत जारी गरेको छ। सूचनामा उल्लेख भएअनुसार पाँच मुरी बदाम फलाउने किसानलाई प्रतिमुरी ५०० रुपैयाँका दरले दुई हजार ५०० रुपैयाँ तथा त्योभन्दा बढी फलाउनेलाई थप ३०० रुपैयाँका दरले प्रोत्साहन रकम दिने जनाइएको छ। 

नगरपालिकाको अधिकांश भागमा उत्पादन हुने बदामखेलीलाई प्रवर्द्धन गर्दै ब्रान्डिङ गरेर बिक्री गर्ने योजनासहित किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख विमला राईले बताइन्। “बदाम बिक्रीबाट नगरपालिकाका किसानले अहिले पनि राम्रो आम्दानी गरिरहेका छन्। किसानले उत्पादन गरेका बदामलाई आगामी दिनमा ब्रान्डिङ गर्ने योजना छ,” उनले भनिन्, “हाम्रो नगरपालिकामा बदाम र गहत उत्पादनको प्रचुर सम्भावना छ।”

नगरले आर्थिक वर्ष २०८०/८१ मा नगरसभाबाट पारित गरेर गहत र बदामखेती प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम ल्याएको थियो। यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना छ। बदाम र गहतलाई पालिकाको विशेष उत्पादन बनाएर निर्यात गर्दै आम्दानीको स्रोत वृद्धि गर्ने लक्ष्य लिएको राईले बताइन्। 

नगरपालिकाको वडा नं ८ धितुङ, वडा नं ५ दुर्छिम वडा नं २ डिकुवामा बदामखेती लगाउने गरिएको छ। वडा नं १ बाहुनीडाँडा, वडा नं ३ च्यास्मिटार, वडा नं ७ महादेवस्थान, वडा नं ११ राजापानीलगायत ठाउँमा पनि आंशिक मात्रामा बदामखेती लगाउने गरिएको छ। मध्यपहाडी लोकमार्गले छोएको यो नगरपालिकाको वडा नं ८ धितुङमा सबैभन्दा बढी बदामखेती लगाउने गरिएको छ। धितुङका धेरैजसो घरमा वार्षिक २०–२२ मुरी बदाम भित्रिने गरेको धितुङका वडाध्यक्ष टेकराज राईले बताए।

११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा यस वर्ष ७०० मुरीभन्दा बढी बदाम उत्पादन हुने अनुमान गरिएको नगरपालिकाका कृषि शाखाले जनाएको छ। नगरपालिकाका कृषि शाखाको तथ्यांकनुसार करिब २०० घरपरिवार किसानले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्दै आएका छन्।

नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि उपजलाई प्रवर्द्धन तथा बजारीकरण गर्दै नगरबासीको आयआर्जनमा वृद्धि गर्न हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि संकलन केन्द्र सञ्चालन गरिएको छ। आयातित कृषि उपजलाई निषेध गर्दै स्थानीय कृषि उपज प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको ३८ लाख ३८ हजार ८३१ लगानीमा कृषि संकलन केन्द्र स्थापना गरिएको नगर प्रवक्ता वडाध्यक्ष कमल गिरीले जानकारी दिए।

हलेसी क्षेत्रका किसानले उत्पादन गरेका अधिकांश बदाम स्थानीय तथा बाहिरबाट आएका ठेकेदारले खरिद गरेर जिल्लाकै त्रिधार्मिकस्थल हलेसी बजार, दिक्तेल, रभुँवाघाटमा लाग्ने माघे संक्रान्ति मेला, बराहपोखरी मेला, दिक्तेल बजार, छिमेकी जिल्ला ओखलढुंगालगायत स्थानमा बिक्री गर्न लैजाने गरेका छन्।

धार्मिकस्थल हलेसी आसपासका क्षेत्रमा उत्पादित बदाम कोसेलीका रूपमा पनि प्रयोग हुने गरेको छ। हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीका रूपमा बदाम लैजाने गरेका हुन्। अन्नबाली कम उत्दान हुने हलेसीमा उत्पादित बदाम किसानको घरबाटै प्रतिपाथी २७० देखि ३०० रुपैयाँसम्ममा बिक्री भइरहेको जनाइएको छ।

किसानबाट खरिद गरिएको बदाम हलेसी तथा आसपासका बजारमा ३५० देखि ४०० रुपैयाँसम्ममा बिक्री हुने गरेको नगर प्रवक्ता गिरीले जानकारी दिए।