तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान

फ्लोरिकल्चर एसोसिएसनका अनुसार यसपालिको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फूलको माला खपत हुने अनुमान छ।

काठमाडौँ– यसपालिको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फूलको माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसनका अनुसार सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान छ।

एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले तिहारबेला प्रत्येक वर्ष फूल र मालाको माग १० प्रतिशतले बढ्दै गएको बताए। यस वर्ष ४५ लाख माला खपत हुने अनुमान गरिएको पनि उनले बताए।

तिहारमा काठमाडौँ उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिए। पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयात हुने गर्छ।