लेबनानको अलसाहेल अस्पतालमुनि अर्बाैंको सुन र नगद रहेको इजरायली सेनाको खुलासा

पछिल्लो समय इजरायलले हिजबुल्लाहका आर्थिक लक्ष्यकेन्द्रित हमला गरिरहेको छ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले लेबनानको एक अस्पतालमुनि अर्बौं सुन र नगद भएको दाबी गरेको छ। दक्षिण बेरुतको अलसाहेल अस्पतालमुनि बनाइएको बंकरमा ५० करोड अमेरिकी डलर (६७ अर्ब रुपैयाँ) को नगद र सुन रहेको आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले बताए।

टेलिभिजन ब्रिफिङमा उनले भने, “अनुमानअनुसार यस बंकरमा कम्तीमा पनि आधा अर्ब डलरको नगद र सुन रहेको छ। यो पैसाबाट लेबनान राज्य पुनर्निर्माण गर्न प्रयोग गर्न सकिन्छ।”

पछिल्लो समय इजरायल हिजबुल्लाहका आर्थिक लक्ष्यहरूमा हमला गरिरहेको छ। दक्षिणी बेरुत उपनगर दहियाहको अलसाहेल अस्पतालको मुनि रहेको यस बंकरलाई हिज्बुल्लाह प्रमुख नसरल्लाहको आर्थिक गढ भएको बताइएको छ।

इजरायलले लेबनानी अधिकारीहरू र अन्तर्राष्ट्रिय संस्थाहरूलाई हिजबुल्लाहलाई आतंकवादको लागि पैसा प्रयोग गर्न र इजरायलमा आक्रमण गर्नबाट रोक्न आह्वान गरेको थियो। इजरायली वायुसेनाले उक्त क्षेत्रको निगरानी गरिरहेको चेतावनी पनि दिएको छ।

इजरायल लेबनानी जनतासँग नभई आतंकवादी संगठन हिजबुल्लाहसँग लडिरहेको बताउँदै आइडीएफले अस्पतालमा आक्रमण नगर्ने जनाएको छ। यसअघि इजरायलले हिजबुल्लाहसँगको सम्बन्ध रहेको बैंकमा आक्रमण गरेको थियो।