बाढीपहिरोमा ज्यान गुमाएका २३८ मृतकका परिवारले पाए राहत रकम

असोज दोस्रो साता आएको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई सरकारले आर्थिक सहायता प्रदान गरेको छ।

फाइल तस्वीर

काठमाडाैँ– अति भारी वर्षापछि आएको बाढीपहिरो र डुबानलगायत विपद्का घटनामा परी मृत्यु भएका परिवारलाई गृह मन्त्रालयले आर्थिक सहायता उपलब्ध गराएको छ।

गत असोजको दोस्रो साता आएको विपद्‍मा परी ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहायतास्वरूप प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले राहत रकम वितरण कार्य अन्तिम चरणमा पुगेको र २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म विपद्‍मा परी ज्यान गुमाएका २३८ जना मृतकका परिवारलाई आर्थिक सहायता स्वरूप राहत रकम वितरण गरिएको छ।

सबैभन्दा धेरैले ज्यान गुमाएको काभ्रेपलाञ्चोकमा ७९ जना मृतकका परिवारमध्ये ७८ जनाका परिवारलाई राहत रकम वितरण भइसकेको छ। त्यहाँ मृतक १ जना बालकको कागजी प्रक्रियामा रहेकाले परिवारलाई चाँडै राहत रकम दिइने मन्त्रालयले जनाएको छ। त्यसैगरी ललितपुरमा मृत्यु भएका ४६ मध्ये ४५ जनाका परिवारलाई रकम हस्तान्तरण गरिएको छ भने एक जनाको हकदार यकिन नभएकाले रोकिएको छ।

प्रवक्ता तिवारीका अनुसार काठमाडौँमा १९ जना, भक्तपुरमा ४, झापामा २, पाँचथरमा ७, धनकुटा र उदयपुरमा १/१, सोलुखुम्बुमा ५, ईलाममा १, ओखलढुंगामा १, महोत्तरीमा २, सप्तरीमा १, सर्लाहीमा ३ र रौतहटमा ४ जना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ।

त्यसैगरी गृह मन्त्रालयबाट सिराहामा १, मकवानपुरमा ७, धादिङका ३६, सिन्धुपाल्चोक र दोलखामा ७/७, रामेछापमा १, सिन्धुलीमा ३ र रुपन्देहीमा २ जना मृतकका परिवारलाई राहतस्वरूप आर्थिक सहायता उपलब्ध गराइएको छ।

विपद्‍मा परी ज्यान गुमाएकामध्ये १२ जनाका परिवारलाई राहत वितरण कार्य प्रक्रियामा रहेको छ। अहिलेसम्म मृतकका परिवारलाई ५ करोड ४६ लाख रुपैयाँ राहत रकम वितरणका भइसकेको मन्त्रालयले जनाएको छ।