भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा

प्रतिस्पर्धाले भारतको डिजिटल विकासमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ, किनकि देशमा अझै पनि करिब ४० प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच छैन।

विश्वका दुई धनी व्यक्ति एलन मस्क र मुकेश अम्बानी भारतको स्याटेलाइट इन्टरनेट बजारमा प्रतिस्पर्धा गर्न लागेका छन्। 

भारत सरकारले स्याटेलाइट स्पेक्ट्रम लिलामीको सट्टा प्रशासनिक रूपमा बाँडफाँड गर्ने घोषणा गरेपछि प्रतिस्पर्धा हुने भएको हो।

एलन मस्कले यसअघि लिलामी मोडलको आलोचना गरेका थिए, जुन मुकेश अम्बानीले समर्थन गरेका थिए। स्याटेलाइट इन्टरनेट सेवा विशेष गरी दुर्गम र ग्रामीण क्षेत्रमा भरपर्दो विकल्प भएकाले भारतमा यसको महत्त्व बढ्दै गएको छ।

भारतको टेलिकम नियामकले अझै स्पेक्ट्रमको मूल्य घोषणा गरेको छैन, तर २०२५ सम्ममा दुई मिलियन ग्राहक पुग्ने अनुमान गरिएको छ। बजारमा मुख्य खेलाडीमा मुकेश अम्बानीको रिलायन्स जियो अग्रपंक्तिमा छ, जसले लक्सेम्बर्ग–आधारित स्याटेलाइट अपरेटर एसईएस एस्त्रासँग साझेदारी गरेको छ।

एलन मस्कको स्टारलिंकले तीव्र स्याटेलाइट इन्टरनेट सेवा प्रदान गर्न लो–अर्थ अर्बिट स्याटेलाइट प्रयोग गर्छ। एसईएसले मध्यम–अर्थ अर्बिट स्याटेलाइट प्रयोग गर्छ, जुन तुलनात्मक रूपमा सस्तो हुने बताइएको छ।

एलन मस्कले २०२१ देखि भारतमा सेवा शुरू गर्न चाहेका थिए, तर नियामक अवरोधका कारण ढिलाइ भएको थियो। 

मस्कको स्टारलिंकसँग विश्वभर चार मिलियन ग्राहक रहेका छन्। भारतमा उनको प्रवेशले प्रधानमन्त्री नरेन्द्र मोदीको विदेशी लगानी आकर्षित गर्ने प्रयासलाई बल पुग्ने विश्लेषण गरिन्छ।

यस प्रतिस्पर्धाले भारतको डिजिटल विकासमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ, किनकि देशमा अझै पनि करिब ४० प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच छैन।