राष्ट्रिय मुद्दामा एक ढिक्का हुने सत्तारुढ दलको निर्णय

बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरूले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको छ।

काठमाडौँ– सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूको बैठकमा सरकारको १०० दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार बसेको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको १०० दिन पुगेको अवसरमा बुधबार दिउँसो तीन बजे सम्बोधन गर्नेबारे बैठकलाई जानकारी गराइएको छ।

बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिबाट सर्वसम्मत तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेतलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी गराए। 

फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने हिसाबले भइरहेका विरोध प्रदर्शन उचित नभएको उनको भनाइ थियो। यस्ता घटनाका विषयमा सत्तामा रहेका दलले आ–आफ्ना तर्फबाट वक्तव्य जारी गरी न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्ष रूपमा अगाडि बढाउन आग्रह गर्ने भन्नेमा बैठकमा समझदारी भएको छ।

सरकारको हालसम्मको काम र आगामी योजनालगायत विषयमा कात्तिक ९ गते अर्को बैठक गरी साझा धारणा सार्वजनिक गर्ने पनि आजको बैठकबाट तय भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए। 

बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरू एकता र एकढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक पद्धति, मूूल्य र मान्यताप्रति आफूहरू प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताए। “हामी लोकतन्त्रका लागि लडेका हौँ। हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ। अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन। जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन  आजीवन लागेका छौँ,” उनले भने, “हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन। यसमा हामी स्पष्ट छौँ।”

बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलगायत सहभागी थिए।