म्याग्दीमा असिनापानीले सखाप बनायो पाक्न लागेको धान

म्याग्दीका विभिन्न ठाउँमा फूल खेल्दै गरेको, पाक्न लागेको तथा काटेर खेतमा सुकाएको धानमा असिनापानीले क्षति गरेको किसानले बताएका छन्। 

गलेश्वर– असिनासहित आइतबार साँझ परेको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर परेको छ। 

कतिपय ठाउँमा फूल खेल्दै गरेको, पाक्न लागेको तथा काटेर खेतमा सुकाएको धानमा असिनापानीले क्षति गरेको किसानले बताएका छन्। 

असिनापानीले सबैभन्दा बढी क्षति बेनी नगरपालिका–२  ज्यामरुककोटमा पुर्‍याएको सो वडाका अध्यक्ष यामबहादुर कार्कीले बताए। “अहिले हामी क्षतिको विवरण संकलन गर्न किसानका खेतखेतमा पुगेका छौँ, अधिकांश ठाउँमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ,” वडाअध्यक्ष कार्कीले भने। 

असिनापानीले ज्यामरुककोटको सानालेख, गौश्वारा, तमाने, फापरखेत, खबरा, बगरफाँट, वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १ को अर्जम, रत्नेचौरलगायत ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानबालीमा क्षति पुर्‍याएको छ। बेनी नगरपालिका–२ का वडा सदस्यसमेत रहेका किसान चन्द्रकान्त रिजालका अनुसार असिनाले खेतमा रहेको धानको ८० प्रतिशत दाना झारेर नष्ट गरेको छ।

असिनासहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ। त्यसैगरी, नकाटेको धानका बोट ढालेको छ। दाना सबै झरेर पराल मात्र बाँकी रहेको किसान सन्तबहादुर नेपालीले बताए। भित्र्याउने समयमा पानीले क्षति पुर्‍याइदिए पछि किसान चिन्तित अवस्थामा पुगेको बेनी–२ सानालेखका नारायण शर्माले बताए।

“धानको बोट ठाडो एउटा पनि छैन। सबै सोत्तर भएको छ। खेतैभरि पानी भरिएको छ,” उनले भने, “काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने?” जिल्लाको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन्।

विगतमा पनि यही समयमा असिना र वर्षाका कारण क्षति बेहोर्दै आएका कृषक यस वर्ष पनि क्षति भोग्न बाध्य भएका हुन्। यस वर्ष अधिकांश ठाउँमा धानखेती निकै सप्रिएको र उत्पादन बढ्ने अनुमान गरिएकामा असिनासहितको वर्षाले असर गरेको हो। 

कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख सञ्जीव बास्तोलाले स्थानीय तहले क्षतिको विवरण संकलन गर्ने काम गरिरहेकाले एकीकृत तथ्यांक कार्यालयमा नआइपुगेको बताए।