वैदेशिक रोजगारीबाट फर्केर माैरीपालन, वार्षिक ७ लाख बचत

घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन्।

दाङ– घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन्। लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक रूपमा मौरीपालन थालेको १६ वर्ष पूरा भयो।

हाल उनको फार्ममा १५० मौरीसहितका घार छन्। उनले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन्। मौरीपालन गर्न सिकेपछि व्यावसायिक रूपमा लागेका उनको घरबाटै मह बिक्री हुनेगरेको छ। वार्षिक १६ लाख रुपैयाँको कारोबार गरिरहेका पौरखी घर्तीले बचत पनि राम्रै हुने गरेको बताए। "एक किलो मह पाँच सयमा बिक्री हुने गरेको छ। सबै कटाएर वर्षभरि सात लाख जति बचत हुन्छ," उनले भने।

वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरीपालनबाट प्रशस्त प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताए। गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको उनको भनाइ छ।

मौरीपालन व्यावसायिक रूपमा शुरू गरेदेखि अहिलेसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनले सुनाए। बुढ्यौलीमा अन्य पेसा गर्न नसिकरहेको अवस्थामा मौरीपालन व्यवसाय निकै सहज भएको उनको अनुभव छ।

उनले माैरीलाई चरनका लागि घोराही उपमहानरपालिकाको माथिल्लो भेगतिर लैजाने गरेका छन्। यस व्यवसायमा अलि बढी अध्ययनशील हुनुपर्ने उनी बताउँछन्।