२० अंकले घट्यो शेयरबजार

बुधबार शेयरबजार परिसूचक नेप्से २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा झर्दा कारोबार रकम भने बढेको छ।

काठमाडाैँ– साताको शुरूका दुई दिन घटेर मंगलबार बढेको बजार आज फेरि घटेको छ। बुधबार शेयरबजार परिसूचक नेप्से २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा झरेको छ भने कारोबार रकम भने बढेको छ। आज ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँ बराबरको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ उपसमूहमा फाइनान्स र व्यापारबाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ, जसमा बैंकिङ उपसमूह सबैभन्दा धेरै १.७० प्रतिशतले घटेको छ। आईसीएफसी फाइनान्सको सबैभन्दा धेरै ४३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ भने कुमारी बैंकको २६ करोड ९७ लाख र साहस उर्जाको २६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

कारोबारमा आएका कम्पनीहरूमध्ये बुधबार आईसीएफसी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको ९.९३ प्रतिशत र मञ्जुश्री फाइनान्सको ६.६७ प्रतिशतले बढेको छ। यस्तै, महुली लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.२८ प्रतिशत तथा हिमालयन बैंकको ४.०७ प्रतिशतले घटेको छ।