प्रमुख प्रतिपक्षसहितका दलहरूले भेटे राष्ट्रपति

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि प्रतिपक्ष दलका नेता शीतल निवास पुगेका हुन्।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षसहितका दलका नेताहरूले भेटेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गरेका हुन्। प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि शीतल निवासमा आएको जानकारी दिए।

राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिबारे जानकारी दिनका लागि आफूहरू आएको बताउँदै उनीहरूले लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। नेताहरूले संविधानको मर्म विपरीत र बहुलवादमा आधारित मर्म विपरीतका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

सो असरमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको बताउँदै संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गरे। उनले भने, “संविधान मर्म र लोकतन्त्रको मर्मलाई हेरेर संविधानले निर्धारित राष्ट्रपतिको कर्तव्य र सीमालाई हेरेर मैले काम गर्ने कुरामा तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु।”

संसद्मा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र आमजनता पार्टी छन्। राष्ट्रपति पौडेलसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष दाहाल, शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता बुद्धिमान तामाङ र हेमजंग गुरुङ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र आमजनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए।