बजेट अभावले २ वर्षदेखि अलपत्र काभ्रेको तामाङ एकीकृत बस्ती

नमूना बस्तीमा ३० घर र एक सामुदायिक भवन निर्माण गर्ने योजना छ। ६ वटा घर बन्न बाँकी छन्।

काभ्रेपलान्चोक– मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७४ सालमा बस्ती निर्माण थालेको थियो। तीन वर्षमा सक्ने लक्ष्य थियो। ‘कोरोना–प्रभाव’लगायत कारण ढिलासुस्ती हुँदै आएको उक्त बस्ती निर्माण बजेट अभावले ठप्प छ। 

योजनाअन्तर्गत ६ वटा घर बन्न बाँकी छन्। बनेका घरको फिनिसिङ भएको छैन। नमूना बस्तीमा ३० घर र एक सामुदायिक भवन निर्माण गर्ने योजना छ।

बाँकी काम पूरा गर्न नगरपालिकाले ४० लाख रुपैयाँ सहयोग दिने जनाए पनि अघिल्लो आर्थिक वर्षदेखिनै रकम निकासा नहुँदा बस्ती निर्माणको रोकिएको बस्तीका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाले बताए। 

सरकारको योजनअनुसार नै तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होमस्टेसहित नमूना तामाङ बस्तीको निर्माण थालिएको थियो। 

नगरप्रमुख टोकबहादुर वाइबाले अघिल्लो चरणमा लगेको पेस्की फछ्र्याेट भएपछि मात्रै बस्तीको लागि निर्णय गरिएको रकम निकासा गर्न सकिने बताए। यसअघि नगरले १० लाख सहयोग गरेको थियो। उक्त सहयोगबाट जस्तापातालगायत निर्माण सामग्री खरिदका कागजपत्र नगरमा पेस गरिएको समितिले जनाएको छ। प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको निर्माण समितिका अध्यक्ष आइतमान तामाङले बताए। 

स्थानीयस्तरमा ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको थियो। प्राधिकरणले २ करोड ८० लाख रुपैयाँ दिएको थियो। तामाङका अनुसार उक्त रकम एकीकृत बस्तीमा पहुँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउन खर्च भएको छ। 

तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण गर्न जनश्रमदान बाहेक १३ लाख लाग्ने अनुमान गरिएको थियो। बस्ती निर्माणार्थ जनश्रमदानमा पनि स्थानीय निकै महिना खटेका थिए। स्थानीय युवा विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत साथ दिएको बताए। स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माण शुरू भएपछि १५० दिन खटिइन्। “गाउँमा एकै ठाउँमा चिटिक्कका घर बनाएर बस्ने र पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले काम गर्न जान्थ्यौँ, पैसा छैन भनेर काम रोकिएको  दुई वर्ष भइसक्यो,” पञ्चकुमारीले भनिन्। 

नमूना बस्तीमा ४० लाखमा एक सामुदायिक भवन निर्माण भएको छ। उक्त सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा, तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङग्रोलगायतका सामाग्री संग्रह गरिने तथा तिनका बारेमा जानकारी दिने योजना थियो। 

६ घरको एक ‘ब्लक’ बनाएर छुट्टाछुट्टै पाँच ब्लकमा ३० वटा घर बनाउने योजनाले पूर्णता नपाउँदा तीनधाराका बासिन्दा खिन्न भएका छन्।