सुनसरीको कोशी गाउँपालिका–६ का देवचन्द्र झाले कोशी नदीको गहिराई कम हुँदै गएपछि आसपास क्षेत्रमा जोखिम बढेर बस्ती नै विस्थापित हुने अवस्था आएको बताएका छन्।
इनरुवा– वर्षायाममा पानी र बाढीले भरिभराउ हुने सप्तकोशी सुख्खायाममा भने बालुवा नै बालुवा देखिन्छ। धेरै ठाउँमा त बालुवाका टापु नै बन्छ। यी टापु देख्नेले भन्छन्, “नदीको सतह उच्चो भयो, नदी क्षेत्रमा बालुवा तथा गेग्र्यान भरिँदा वर्षात्मा नदी उर्लिएर त्यस आसपास सुनसरी र सप्तरी क्षेत्रका बासिन्दालाई त्राहिमाम् बनाउन थाल्यो।”
सप्तकोशीमा बर्सेनि बाढीसँगै बगेर आउने बालुवा, लेदो, माटो र गेग्र्यान थुप्रिएर नदीको सतह उच्च हुँदै गइरहेको छ। यसको व्यवस्थापन नहुँदा नदीको पानी बस्तीमा पस्ने खतरा छ। इनरुवाका एक जना नेता प्रदीप ढकाल धेरै वर्षदेखि यो समस्या समाधान नभएको र यसतर्फ सरोकार भएका निकायले ध्यान नै नगएको बताउँछन्। “पूर्वमा कञ्चनजंघादेखि पश्चिममा लामटाङ हिमाल (गोसाईंकुण्ड) सम्मको पानी मिसिने सप्तकोशी नेपालको सबैभन्दा ठूलो नदी हो। तिब्बत र नेपालका हिमाल, पहाड, तराई हुँदै भारतको गंगा नदीमा गएर मिसिने यस नदीले निम्त्याउने विपद्ले यी सबै क्षेत्र नराम्ररी प्रभावित भइरहेका छन्। त्यसैले यसको व्यवस्थापनमा ध्यान दिनुपर्छ,” उनले भने।
सुनकोशी, दूधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तमोर, लिखु सहायक नदी मिसिएर बग्ने सप्तकोशी नदीमा बालुवा थुप्रिँदै गएपछि नदीको गहिराई कम हुँदै गएर सतह पुरिँदै जाँदा जोखिम थपिँदै गएको उनको भनाइ छ।
सुनसरीको कोशी गाउँपालिका–६ का देवचन्द्र झाले कोशी नदीको गहिराई कम हुँदै गएपछि आसपास क्षेत्रमा जोखिम बढेर बस्ती नै विस्थापित हुने अवस्था आएको बताए।
नदीको भुइँसतह माथि उठ्दै गएपछि बाढी तटबन्ध छेउसम्म आउने गरेको र बस्ती क्षेत्रमा पसेर हरेक वर्ष डुबान हुने गरेको कोशी क्षेत्रका जानकार बाबुराम कार्कीको भनाइ छ। “हिमाली र पहाडी क्षेत्रमा हुने भूक्षयका कारण समथर क्षेत्रमा फैलिएको कोशी नदी क्षेत्रको सतह वृद्धि भएको छ। थोरै मात्र पानीको मात्रा बढ्दा पनि बाढीले ठूलो रूप लिने गरेको छ,” उनले भने।
बराहक्षेत्र–९ का भीम कार्कीका अनुसार केही वर्षाअघिसम्म पहाडबाट ठूलो पानी र बाढी उर्लेर आउँदा पनि खासै असर नपर्ने स्थानमा पछिल्ला दिनमा सामान्य बाढी आउँदा पनि उग्र रूप देखिने गरेको छ। “बाढीसँगै बगेर आउने बालुवाजन्य सामग्रीले नदी उच्च हुँदै जाँदा यहाँ बालुवाका टापु बनेका छन्। पहाडी क्षेत्रबाट आएको नदीको पानी बगेर जाने तर पानीसँगै बगेर आउने माटो, बालुवा यही थुप्रिने गर्दा समस्या छ तर सरकारले सफाइमा ध्यान दिएको छैन,” उनले भने।
इनरुवाका वरिष्ठ पत्रकार शशि कोइरालाले कोशी बराजको ढोकाका कारण बालुवा, रुख, माटो, गेग्र्यान निर्वाध रूपमा बग्ने अवस्था नरहेको बताए। सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोशी बराजका ढोका भारतले आवश्यकताअनुसार मात्र खोल्ने गरेको छ।
सप्तकोशी डुबान, कटान तथा बाढीपीडित संघर्ष समितिका उपाध्यक्ष लालबहादुर लिम्बूले नदीलाई आफ्नै अवस्थामा फर्काउन सतहबाट बालुवाजन्य सामग्री व्यवस्थापन गर्न आवश्यक रहेको बताए। नौ लाख क्युसेक पानी धान्न सक्ने क्षमता भएको नदीमा पछिल्ला केही दशकदेखि एक लाख ५० हजार क्युसेक पानीको बहाव हुनेबित्तिकै निकै समस्या हुने गरेको स्थानीय नेत्र घिमिरेले बताए।
कोशी योजना विराटनगरका सम्पर्क तथा सहभूआर्जन अधिकृत प्रमोद पौडेल पनि सप्तकोशी नदीमा गेग्र्यान जम्मा हुँदा वर्षायाममा जोखिम बढेको बताउँछन्। समस्या बढ्दै गए पनि स्थानीयस्तरमा आफूहरूले केही गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ। “२०११ वैशाखमा नेपाल र भारत सरकारबीच भएको कोशी योजनासम्बन्धी सम्झौतामा नेपालको अधिकार परामर्श दिने र अनुगमन गर्ने मात्र रहेकाले यहाँको समस्या समाधानका लागि सरकारकै तहबाट पहल गर्नुपर्ने हुन्छ,” पौडेलले भने।
सप्तकोशी नदीमा गत भदौ २४ गते राति ६ लाख ५५ हजार ३७० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव हुँदा कोशी बराजमाथि पानी बगेको थियो। यसलाई भारतको गंगा नदीले भन्दा बढी बालुवा थुपार्ने नदीको रूपमा चिन्ने गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
