वडाध्यक्ष अमेरिका गएपछि स्थानीयले कार्यालयमा लगाए ताला

साकेला गाउँपालिका–४ वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म अमेरिकाबाट नफर्किएको र वडाको काम प्रभावित भएको भन्दै स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन्।

खोटाङ– साकेला गाउँपालिका–४ मात्तिमको वडा कार्यालयमा स्थानीयले तालबन्दी गरेका छन्। 

वडाध्यक्ष अर्जुनकुमार कटवाल अमेरिकाबाट नफर्किएको भन्दै स्थानीयले कार्यालयमा ताला लगाएका हुन्। वडाध्यक्ष अमेरिका गएपछि वडाको कामकारबाही प्रभावित भएको र समस्या समाधानको माग राख्दै तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए। 

नौ महिनासम्म वडाध्यक्ष कटवाल नफर्किएपछि पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरिएको छ। गत साउन २१ गते गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अल्टिमेटम दिएको थियो।

यस सम्बन्धमा जिल्ला निर्वाचन कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको भट्टराईले बताए।

वडाध्यक्ष कटवाल स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।