उत्तर कोरियाले अक्टोबरमा ३ हजार सेना रुस पठाएको अमेरिकाको दाबी

उत्तर कोरियाको वोनसनबाट सेना रुसको भ्लाडिभोस्टोकसम्म जहाजमार्फत गएको र हाल उनीहरू रुसी सैन्य प्रशिक्षणमा रहेको अमेरिकाले जनाएको छ।

उत्तर कोरियाले कम्तीमा तीन हजार सेना अक्टोबरमा रुसमा पठाएको अमेरिकाले दाबी गरेको छ। ह्वाइट हाउसका अनुसार उनीहरू युक्रेन विरुद्धको लडाइँमा सहभागी हुने अत्यधिक सम्भावना छ।

उत्तर कोरियाली सैनिक युक्रेनसँग लड्न रुस जाँदै गरेको सूचना पाएको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सञ्चार सल्लाहकार जोन किर्बीले बुधबार पत्रकार सम्मेलनमा बताए। 

सेना उत्तर कोरियाको वोनसनबाट रुसको भ्लाडिभोस्टोकसम्म जहाजमार्फत गएको र हाल उनीहरू रुसी सैन्य प्रशिक्षणमा रहेको उनको भनाइ छ। प्रशिक्षणपछि सैनिक युक्रेनी सेनाविरुद्ध लडाइँमा संलग्न हुन सक्ने चिन्ता उनले व्यक्त गरेका छन्।  

मस्को र किभबीचको द्वन्द्वमा उत्तर कोरिया प्रवेश गरेमा युद्धमा रुस कायरतालाई उजागर गर्ने उनले उल्लेख गरेका छन्।   

युक्रेनविरुद्धको युद्धमा रुसले हरेक दिन असाधारण हताहत भोगिरहेको बताउँदै किर्बीले अझै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावविपरित युक्रेनसँग द्वन्द्व जारी राख्न चाहेको बताएका छन्।