बढी भएको मेलम्चीको पानी बागमतीमा बगाइँदै

मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेकोमध्ये प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ।

नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को संयोजनमा गत भदाैमा बागमतीमा जलयात्रा गरिएको थियो।

काठमाडौँ– मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेकोमध्ये प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ।

अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडाैँमा आइरहेको भए पनि करिब १८ करोड लिटर पानी प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण गरिन थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी प्रमुख रत्न लामिछानेले राससलाई जानकारी दिए।

उनले भने, “मेलम्चीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी आइरहेको छ, १८ करोड लिटर पानी प्रशोधन गरी पठाउन थालिएको छ, प्रशोधन क्षमताभन्दा बढी रहेको बाँकी पानी बागमती नदीमा छाडिएको छ।”

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी बागमती नदीमा पठाइएका कारण अहिले बागमती नदीको बहाव पनि बढ्दै गइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

मेलम्चीबाट आएको बढी पानी बागमती नदीमा पठाइएका कारण फोहर देखिँदै आएको नदी क्रमिक रुपमा सङ्लो हुँदै जान थालेको लामिछानेले बताए।