श्रीलंकालाई ६–० गोलअन्तरले हराउँदै सेमिफाइनलमा पुग्यो नेपाल

नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग खेल्ने छ।

काठमाडाैँ– श्रीलंकाविरुद्ध फराकिलो गोलअन्तरको जित निकाल्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा बिहीबार भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हराएको हो। योसँगै नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेको छ। समान अंक रहे पनि गोलअन्तरको आधारमा भुटान उपविजेता बनेको छ।

नेपाललाई अघिल्लो चरणमा पुर्‍याउन रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर, सावित्रा भण्डारी, अमिषा कार्की र रश्मी घिसिङले समान १/१ गोल गरे।

नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग खेल्ने छ। भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराए पनि बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। यस्तै, नेपाल रहेको समूहको उपविजेता बनेको भुटानले भने बंगलादेशसँग खेल्नेछ।