रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत शुक्रबार पक्राउ परेका लामिछाने अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन्।

काठमाडाैँ–  पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएको छ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनी र डीआईजी छविलाल जोशीसहित १२ जनाविरुद्ध बिहीबार रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। जिल्ला प्रहरी कार्यालय बुटवलको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्यामप्रसाद श्रेष्ठले लामिछाने र जोशीसहित १२ जनालाई संगठित रूपमा सहकारी ठगीसम्बन्धी कसूरमा पक्राउ गर्न अनुमति दिएका हुन्। यसअघि सुप्रिम सहकारीको रकम अपचलनको विषयमा  छविलाल जोशीसँग जिल्ला अदालत रुपन्देहीमा दुई दिन बयान लिइएको थियो।

पीडित पक्षको जाहेरीअनुसार विपक्षीहरूले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि. लगायतका कम्पनीमा जम्मा गरेका थिए। उनीहरू कम्पनीका शेयर सदस्य, सञ्चालक समितिका पदाधिकारी र बैंकिङ कारोबारमा आधिकारिक हस्ताक्षरकर्तासमेत रहेको अनुसन्धानबाट खुलेको छ।

पोखराको सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगी प्रकरणमा गत शुक्रबार पक्राउ परेका लामिछाने अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन्। प्रहरीले बिहीबार थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पनि लिएको छ।