कञ्चनपुरका केही किसानले खेतीमा ड्रोन प्रविधिको प्रयोग गर्न थालेका छन्। यसबाट खेती गर्दा लागत कम हुनुका साथै उत्पादनसमेत वृद्धि हुने उनीहरूको भनाइ छ।
दोधारा चाँदनी– कञ्चनपुरको बेलौरी नगरपालिका–६ का किसान आसरे राम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै खेती गरेर आम्दानी गरिरहेका छन्।
२०७४ सालदेखि व्यावसायिक रूपमा कृषिमा लागेका वडायकले खेतीकै आम्दानीले एक करोडभन्दा बढीको कृषियन्त्र जोडेका छन्। आफ्नो र भाडामा गरी १५ बिघा जग्गामा उखु, तोरी, मसुरो र धानखेती गरेर वार्षिक ३० लाख रुपैयाँ बराबरको उत्पादन गरिरहेको बताए।
“ड्रोन प्रविधिबाट खेती गर्न सहज हुने भएकाले १० लाख रुपैयाँमा ड्रोन ल्याएको छु,” उनले भने, “यसबाट खेती गर्दा लागत कम हुनुका साथै उत्पादनसमेत वृद्धि भएको छ।”
भारतका विभिन्न शहरमा व्यावसायिक खेतीको तालिम लिएर खेतीमा लागेका हुन्। “दुई वर्ष भारतको साझनपुरमा उखुखेतीसम्बन्धी तालिम लिएँ, महाराष्ट्रको साङलीमा व्यावसायिक खेतीको तालिम लिएर यहाँ आएपछि आफै शुरू गरेको हुँ,” वडायकले भने, “२०७१ सालमा भारतको पन्तनगर विश्वविद्यालयमा तरकारीखेतीसम्बन्धी तालिम लिएको छु।”
भारतमा सिकेको सीपले खेती गर्न धेरै सहज भएको छ। “ड्रोनले मानिसले भन्दा धेरै छिटो काम गर्छ। यसबाट बीउबिजन र विषादीलगायत आवश्यक कीटनाशक औषधिसमेत छर्किन सकिन्छ,” उनले भने, “किसानको स्वास्थ्यमा हुनसक्ने समस्या पनि हुँदैन।”
खेतीमा परिवारका सदस्यले पनि सघाउँछन्। “मेरो भतिजो र छोरी आईएससीएजी अध्ययन गरिरहेका छन्,” वडायकले भने, “उनीहरूले पनि मलाई प्राविधिक कुरामा सघाउँछन्। प्रविधिले हामीलाई धेरै नै सहज बनाएको छ । घरका सबै सदस्य मिलेर काम गरिरहेका छौँ।”
खेतीको सिजनका बेला ३० देखि ४० जनालाई रोजगारीसमेत दिने गरेको उनले सुनाए। “सामान्य किसानले एक बिघामा २ देखि ३ लाख रुपैयाँसम्मको उत्पादन गर्छ। मैले एक बिघामा करिब १४ लाखसम्मको उत्पादन गर्ने लक्ष्य लिएको छु,” वडायकले भने, “प्राविधिक कुरामा मात्र ध्यान दिनसके राम्रो उत्पादन हुन्छ।”
बजारको समस्या हालसम्म भएको छैन। जति उत्पादन गरेका छन्। सहज रूपमा बिक्री भइरहेको छ। “स्वदेशमै मिहिनेतका साथ काम गरे विदेश जानुपर्दैन। कृषिबाट विदेशकै जति कमाइ गर्न सकिन्छ,” उनले भने। वडायक गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट सर्वोत्कृष्ट किसान तथा भीमदत्त उत्कृष्ट किसानबाट सम्मानित भइसकेका छन्।
कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ। परम्परागत रूपमा गोरु र राँगाले जोत्ने ठाउँमा ट्रयाक्टर, मिनीटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छ। बाली काट्न र पिस्न पनि प्रविधिको प्रयोग भइरहेको छ। काट्नलाई रिपर, बस कटर, कम्बाइन हार्भेस्टरलगायतका अत्याधुनिक उपकरणको प्रयोग बढ्दो छ।
अहिले किसानले ड्रोनलगायत नयाँनयाँ बीउबिजन, रोग–कीरा नियन्त्रणसम्बन्धी प्रविधिको प्रयोग गरिरहेका छन्। किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकीकरणतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
