विज्ञ भन्छन्– सुनामीका लागि विश्व पहिलेभन्दा बढी तयार छ

समुद्री विशेषज्ञहरूले सुनामीबाट हुने हरेक मृत्यु रोक्न नसकिने तर प्रभाव कम गर्न सकिने बताएका छन्।

पूर्वचेतावनी प्रणालीका कारण विश्व विनाशकारी सुनामीका लागि पहिलेभन्दा बढी तयार रहेको समुद्री विज्ञान विशेषज्ञले बताएका छन्। यद्यपि उनीहरूले अझै पनि सुनामी कहिले आउन सक्छ भन्ने भविष्यवाणी गर्न सकेका छैनन्।

एक  लाख ७० हजारभन्दा बढी मानिसको ज्यान लिएको सन् २००४ डिसेम्बरको एशियाली सुनामीको २०औँ वार्षिकोत्सव नजिकिँदै गर्दा संयुक्त राष्ट्रसंघ समर्थित विशेषज्ञले सुनामी तयारीका सन्देश दोहोर्‍याएका हुन्। 

दुई दशकअघि विपत्ति आउँदा वैज्ञानिकसँग हिन्द महासागरमा सुनामी चेतावनी प्रणाली थिएन। अहिले विश्वव्यापी एक हजार ४०० स्टेसनले सुनामी तरंग बन्ने बित्तिकै चेतावनी समयलाई केवल केही मिनेटमा घटाएका छन्।

“हामी सन् २००४ मा भन्दा धेरै तयार छौँ। विश्वव्यापी पूर्वचेतावनी प्रणालीले जीवन बचाइरहेको छ,” युनेस्कोका सुनामी लचिलोपन प्रमुख बर्नार्डो अलियागाले बिहीबार पत्रकार सम्मेलनमा भने, “के हामी सुरक्षित छौँ? हो शायद। के हामी विश्वका सबै ठाउँमा सुरक्षित छौँ? शायद होइन। हामीलाई वास्तवमै तपाईंको सहयोग चाहिन्छ किनभने हामीलाई राम्रोसँग तयार हुन सन्देश पास गर्न आवश्यक छ।”

युनेस्कोका विशेषज्ञले जोखिममा रहेका क्षेत्रका नागरिकलाई ‘सुनामी रेडी’ नामक कार्यक्रममार्फत तटीय समुदायको जागरूकता र तयारीमा सहयोग गर्ने, अप्रत्याशित जोखिमबाट जोगिन सक्षम बनाउने आशा गरेका छन्।

“हाम्रो लक्ष्य सन् २०३० सम्ममा यी जोखिममा रहेका शतप्रतिशत समुदाय सुनामीका लागि तयार र लचिलो हुनेछन् भन्ने हो,” युनेस्कोको हिन्द महासागर सुनामी सूचना केन्द्रका प्रमुख अर्दितो कोडिजतले भने।

यस्ता रोकथामका उपायमा निकासी नक्सा, नियमित सुनामी अभ्यास र मानिसलाई सुनामीका संकेत हेर्न सूचित गर्ने, उच्च स्थानमा भाग्नुअघि यसको गर्जिने आवाज सुन्ने जस्ता कुरा समावेश छन्।

यी उपाय प्रमुख फल्ट लाइन नजिक तैनाथ गरिएका बोय जस्ता ठोस चेतावनीसँगै रहन्छन्। यसले तरंग बन्नसक्ने सम्भावना पत्ता लगाउँछन् र चेतावनी केन्द्रमा सूचना पठाउँछन्।

सन् २००४ मा हिन्द महासागर भूकम्प–सुनामीबाट प्रभावित देशका साथै जापान जस्ता फल्ट लाइन नजिक रहेका देश पनि विशेषगरी जोखिममा रहेका छन् ।

समुद्री विशेषज्ञहरूले सुनामीबाट हुने हरेक मृत्यु रोक्न नसकिने तर प्रभाव कम गर्न सकिने बताएका छन्।