डीबी चौधरीको यात्राः चरा सिकारीदेखि संरक्षणसम्म

गिद्ध बढे गाउँमा सिनो नै सिनो फैलिन्छ भन्ने भ्रम थियो। गिद्ध घरमा बसे अपशकुन हुन्छ भन्ने अन्धविश्वास थियो। अनि ‘डीबीले गाई काटेर गिद्धलाई खुवाउँछ’ भनेर पनि हल्ला चलाइएको थियो। तर उनी रोकिएनन्।

काठमाडौँ– साँझ परेपछि चराहरू रूख र बाँसका झ्याङमा बास बसेका हुन्थे। ती चराको शिकार गर्ने समूहको नेता हुन्थे डीबी चौधरी। कावासोती नगरपालिका–१३ पूर्वी नवलपरासीका डीबी आफूले थाहा पाउँदादेखि १२ वर्षको उमेरसम्म चराहरूको गुँड खोज्ने र मार्ने काममा सक्रिय भए। अहिले भने चरा जोगाउने अभियानमा छन्।

“गाउँमा म केटाकेटीको नेता थिएँ। साँझमा बास बसेका चराहरू खोज्न टर्च बालेर जाने, अनि गुलेलीले खसाल्ने त नियमितता थियो,” उनी भन्छन् “त्यसरी मारिएका चराहरू पोलेर खान्थ्यौँ।”

एक साँझ उनी र उनका साथीहरू चरा खोज्दै हिँडेका थिए। उनीहरूले गाउँ नजिकको जंगलमा ढुकुरका जोडी बास बसेका भेटे। अगुवा डीबीले एकै पटकमा दुईवटा ढुकुर मार्ने उद्देश्यले गुलेली हाने। एउटा मर्‍यो, अर्को उडेर बेपत्ता भयो।

“१० फिटमाथि ढुकुरको जोडी बास बसेको थियो। एउटा त भागिगयो,” उनी भन्छन्, “त्यो घाइते भयो कि मर्‍यो होला भन्ने भाव जाग्यो। बिचरा सुतेको थियो, माया लाग्यो। त्यस रात ढुकुर सम्झिएर मलाई निद्रा नै लागेन।”

उनले अर्को दिन साथीभाइलाई अब यस्तो काम नगर्ने बताए। यो घटना उनको जीवनको मोड थियो, जसले उनलाई चरा संरक्षणतिर डोर्‍यायो। 

उनको गाउँ जंगलको नजिक थियो। थारू बस्तीमा सबै परिवारको जीविकाको मुख्य स्रोत जंगल नै थियो। गाईबस्तुको खान्कीदेखि तरकारी र मासुसमेत जंगलकै भर थियो। “जंगलका जनवार त हाम्रा साथीजस्ता थिए। हाम्रो संगत वनजंगल र वन्यजन्तुसँग हुन्थ्यो,” उनी भन्छन्, “हामीले गर्ने व्यवहार गलत रहेछ। स्थानीयको हिसाबले जैविक विविधतालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार बुझेपछि मैले केही न केही गर्नुपर्छ भनेर योजना बनाएँ।”

सन् १९९६ मा उनले चितवन राष्ट्रिय निकुञ्जभित्रको एक रिसोर्टमा ‘नेचर गाइड’ सहयोगीको काम शुरू गरे। सँगै गाउँमा जैविक विविधताको महत्त्व र त्यसको संरक्षणसम्बन्धी चेतना फैलाउने काम पनि थाले। त्यति बेला उनी १९ वर्षका थिए।  

संरक्षणकर्मी एवं चराविज्ञ हेमसागर बराल तलब लिएर संरक्षणमा काम गर्नुभन्दा नलिई मनदेखि जागरुक भएर गर्नु फरक भएको बताउँछन्। डीबीले सानै उमेरदेखि संरक्षणको क्षेत्रमा राम्रो काम गरेको उनको भनाइ छ।

“संरक्षणका लागि तलब नथापी काम गरेको मानिस हो डीबी। संरक्षण संस्थामा काम गर्नेहरूले त तलब खाएर गरेका हुन्,” उनी भन्छन्, “म डीबीलाई गाइडको कामदेखि चिन्छु, ऊ तलब लिएर काम गर्नेभन्दा बढी सकारात्मक र प्रतिबद्ध छ।”

अनि खुल्यो जटायु रेष्टुरेन्ट
जोडी ढुकुरमध्ये एउटालाई खसालेको दिनदेखि डीबीलाई त्यस्तो कामप्रति पश्चाताप लाग्न थालिसकेको थियो। उनले आफू मात्र चरा मार्न छोडेनन्, आफूसँगै हिँड्ने साथीहरूलाई पनि सिकार खेल्न छुटाए। त्यसपछि उनले गाउँमा पाइने चराहरूबारे सोधखोज थाले।

त्यहीँदेखि आफूले चरा र वन्यजन्तुको ठाउँमा मानिस र आफूलाई राखेर हेर्न थालेको डीबी बताउँछन्। “एक प्रकारले हामी त उनीहरूको घरमा गएर बसेका थियौँ,” उनी भन्छन्, “आखिर उसको पनि त मानिसको जस्तै बाँच्ने हक छ नि। त्यो ठाउँमा मान्छे भएका भए...”

नेचर गाइड भएर काम थालेपछि उनको संगत वर्षौंको अनुभव लिएका संरक्षणकर्मीहरूसँग हुन थाल्यो। त्यस्ता संरक्षणकर्मीको संगतबाट उनले आफ्नो ठाउँमा पाइने चरा तथा जीवजन्तुको अंग्रेजी नाम सिक्ने अवसर पाए। “हाम्रो क्षेत्रमा पाइने चरा र वन्यजन्तु तथा रूख विरुवाको नाम थारू भाषामा थाहा थियो। संगतका कारण अंग्रेजी नाम पनि सिकेँ,” उनी भन्छन्।

उनले संगत गरेकामध्ये एक जना हुन् चराविज्ञ हेमसागर बराल। बरालका अनुसार डीबी संरक्षणका नयाँ कुरा सिक्न जहिल्यै उत्सुक हुन्थे। संरक्षणप्रतिको लगावकै कारण उनले आफूलाई स्थापित गरेको बराल बताउँछन्। “जंगलको नजिक खेती गरेर खाने किसानको छोरा हो ऊ। गैंडाले आफ्नो खेतको गहुँ खाएर भ्याउँदा पनि गैंडा संरक्षण गर्नुपर्छ भनेर लाग्ने मानिस हो,” उनी भन्छन्।

डीबीको ध्यान भने संकटापन्न पक्षी गिद्धले तान्यो। पशुमा दुखाइ कम गर्ने डाइक्लोफेनेक नामको औषधिका कारण गिद्धको संख्या घटिरहेको थियो। गिद्धलाई प्रकृतिको कुचिकार मानिन्छ। यसले मरेको सिनो खाएर प्रकृतिलाई सन्तुलनमा राख्ने काम गर्छ।

सन् १९८६ सम्म नेपालमा करिब १० लाख गिद्ध भएको अनुमान छ। अनुसन्धानकर्ता कृष्ण भुसालका अनुसार अहिले नेपालमा गिद्धको संख्या २० हजारभन्दा केही बढी भएको अनुमान छ। पछिल्लो समय गिद्ध संरक्षणका लागि गरिएका प्रयासका कारण संख्या बढेको छ।

सन् २००६ मा कावासोतीको नमूना सामुदायिक वनमा गिद्धलाई सुरक्षित आहारा खुवाउने उद्देश्यले जटायु रेष्टुरेन्ट खोलियो। उक्त रेष्टुरेन्टको मुख्य उद्देश्य औषधि प्रयोग नभएको आहारा खुवाउने थियो। त्यसका लागि बूढा भएका गाई गोरु राख्ने र मरेपछि गिद्धलाई खुवाउने गरिन्थ्यो। यस्तो कामले गिद्धको संख्या वृद्धि भयो। सन् २००६ मा त्यहाँका नमूना, कृष्णसार र गुन्द्रही ढकाह सामुदायिक वनमा ७२ वटा गिद्ध र १७ वटा गुँड फेला परेका थिए। गत वर्ष त्यही ठाउँमा ५१७ वटा गिद्ध र ८१ वटा गुँड फेला परेका छन्।

डीबी चौधरी गिद्धको संंख्या कम हुनुमा विषाक्त आहारासँगै पर्याप्त आहाराको कमी कारण भएको बताउँछन्। “यहाँ थारूहरूले प्रशस्त गाई गोरु पाल्थे। एउटै घरमा २०/२५ वटासम्म हुन्थे,” उनी भन्छन्, “जब यहाँको जंगल मध्यवर्ती सामुदायिक वनका रूपमा हस्तान्तरण भयो, चरिचरण रोकियो। पशुपालनको संख्या घटेपछि गिद्धलाई आहारा पनि कम भयो।”

डीबी चौधरीले गाउँमा जटायु रेष्टुरेन्ट त शुरू गरे तर उनले अनेक चुनौती सामना गर्नुपर्‍यो। मानिसहरू गिद्धप्रति नकारात्मक थिए। गिद्ध बढे गाउँमा सिनो नै सिनो फैलिन्छ भन्ने भ्रम थियो। गिद्ध घरमा बसे अपशकुन हुन्छ भन्ने अन्धविश्वास थियो।

‘गिद्ध पनि पाल्ने!’ भनेर उनको योजनालाई मानिसले पत्याएनन्। अनि ‘डीबीले गाई काटेर गिद्धलाई खुवाउँछ’ भनेर पनि हल्ला चलाइयो। त्यसपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जटायु रेष्टुरेन्ट आए। त्यति बेला प्रहरीले डीबीलाई पक्राउ गर्ने भनेर गाउँमा हल्ला चलाइयो। डीबीले प्रहरी र प्रशासनलाई सबै अवधारणा र उद्देश्य बुझाए। त्यसपछि प्रजिअ र प्रहरी प्रमुख उनको कुरामा विश्वस्त भए।

संसारकै पहिलो!
कावासोती–१३ मा रहेको जटायु रेष्टुरेन्ट अहिले समुदायद्वारा सञ्चालन गरिएको छ। समुदायद्वारा संरक्षणको उद्देश्यले सञ्चालन गरिएको गिद्ध रेष्टुरेन्ट विश्वकै पहिलो भएको चराविज्ञ हेमसागर बराल बताउँछन्। 

“जटायु रेष्टुरेन्ट त नेपालमा भन्दा पहिला अफ्रिका र स्पेनमा सञ्चालनमा थिए,” उनी भन्छन्, “ती समुदायद्वारा नभई होटलहरूले पर्यटकको आकर्षणका लागि चलाएका थिए। समुदायबाट संरक्षणका लागि चलाइएको नवलपरासी कावासोतीको उक्त रेष्टुरेन्ट विश्वकै पहिलो हो।”