हेटाैँडा सिमेन्ट उद्योगबाट तामाको तार चोरेको आरोपमा ३ जना पक्राउ

प्रहरीले ४० लाख रुपैयाँभन्दा धेरै मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।

काठमाडाैँ– नेपाल प्रहरीले हेटौँडा सिमेन्ट उद्योगबाट ४० लाख रुपैयाँभन्दा धेरै मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।

हेटौँडा उपमहानगरपालिका–९ लामसुरेस्थित हेटौँडा सिमेन्ट उद्योगको पश्चिमतर्फको रोप–वेदेखि क्रसरसम्म जाने छ इन्च र चार इन्चको तामाका तार काटी चोरी गरेको आरोपमा हेटौँडा–१३ का मनिराम थोकर, सन्त तितुङ र भारतीय नागरिक दिल खुस कुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए।

चोरीमा संलग्न भएको आशंकामा थोकरलाई नियन्त्रणमा लिई घटनाबारे सोधपुछ गर्दा हेटौँडा–१३ बस्ने २८ वर्षीय सन्त तितुङलगायत अन्य पाँच/सात जना मिलेर तार चोरी गरी तार छिलेर हेटौँडा–४ स्थित कवाडी पसल सञ्चालक भारतको मोतिहारी जिल्ला चिरैया थाना–७ का दिल खुशकुमार साहलाई बिक्री गरेको भनी खुल्न आएपछि उनीहरूलाई पनि नियन्त्रणमा लिइएको उपरीक्षक खड्काले बताए।