दीपावली र छठपर्वका लागि घर लिपपोत गर्न व्यस्त छन् मिथिलाका महिला

घर लिपपोत र रङरोगन गरिँदा टोलभरिका महिलाबीच आपसी सल्लाह हुन्छ। उनीहरू पालैपालो एकअर्काको घर लिपपोतमा सरिक हुन्छन्।

महोत्तरी– दीपावली र छठ पर्वअघि मधेशमा घर रङरोगन गर्ने परम्परा छ। अहिले यहाँका बस्तीका सर्वसाधारण घरमा रङरोगन गर्ने काममा व्यस्त छन्। घर वरिपरि सरसफाइ गरेर लिपपोत गरेका घरमा लक्ष्मी प्रवेश गर्ने विश्वासले यो बेला घर  रङरोगन गन चलन बसेको गृहिणी बताउँछन्।

“यो (दीपावली) पवनी (पर्व) सबैतिर उज्यालो छर्ने मानिन्छ। त्यसैले पवनीमा घर सिँगार्ने गरेका छौँ,” बर्दिबास–२ बारनचौडीकी संगीता सहनी मलाह भन्छिन्, “अहिले गरेको लिपपोत र रङरोगन घर सजाउनु मात्र नभई रमाइलो पनि हो।” पर्वअघि छरछिमेकका सबै घर वरपरको सरसफाइ र रङरोगनमा लाग्दा कुनै खास उत्सवको झल्को दिने गरेको मैथिल गृहिणीको भनाइ छ।

घर लिपपोत र रङरोगन गरिँदा टोलभरिका महिलाबीच आपसी सल्लाह हुन्छ। उनीहरू पालैपालो एकअर्काको घर लिपपोतमा सरिक हुन्छन्। यी चाडवाडका बेला कसको घर राम्रो लिपपोत र रङरोगन भयो भन्ने छलफल र सँगसँगै काम गर्दा मन फुकाएर ख्यालठट्टा हुन्छ। 

केही दशक पहिलेसम्म दशैँ, दीपावली र छठपर्वअघि घर लिपपोतका लागि विभिन्न रङका माटो लिन टाढाटाढा जाने गरेको बर्दिबास–९ पशुपतिनगरकी ५० वर्षीया शैल महतोको सम्झना अझै ताजै छ। तर पछिल्ला केही वर्षयता नदी किनार क्षेत्र लगातार उत्खनन गरिँदा सेतो र पहेँलो माटोका भित्ता भत्केर बगेपछि बजारे रङको भर पर्नुपरेको महतोको भनाइ छ। महतोजस्तै भंगाहा–४ रामनगरकी सुशीला सदा पनि अब नदी डिलमा पहेँलो, कमेरे र कालो माटो पाइन छाडेको बताउँछिन्। 

दशैँअघि घर लिपपोत गर्न नभ्याएका गृहिणीले अहिले दीपावलीअघि गर्दै छन्। महोत्तरीका १५ वटै पालिकाका बस्तीमा घर सिँगारिने क्रम देखिँदो छ। घर सिँगार्न, लिपपोत गर्ने काममा पुरुष पनि ठाउँठाउँमा देखिन्छन्। तर धेरैजसो यो काम महिलाको मानिने पुरानो मानसिकताले अधिकांश घर लिपपोत र रङरोगन महिलाले नै गर्ने गरेका छन्।

घर लिपपोत र शृंगारले गर्दा चुन र विभिन्न रङको खरिदबिक्री निकै बढेको छ। दशैँदेखि दीपावलीसम्म घर लिपपोत र शृंगारको काम सकिएपछि बस्तीबस्ती उज्यालिने गरेका छन्। दीपावलीअघि लिपपोत र रङरोगन गरिएको घर छठमा सामान्य सरसफाइ गर्दा हुने मानिन्छ।